मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा थप



काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । यस्ता बीमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउने भएका हुन् । बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि केही सुविधा थपिएको बीमा समितिले जनाएको छ । ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गरेर यी सुविधा थपिएको हो ।

समितिले २०७६ सालमै ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ जारी गरे पनि अझै एउटा पनि मर्जर तथा एक्विजिसन भएको छैन । यही कारण उनीहरूलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले केही सुविधा थप गरिएको बिमा समितिमा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । कम्पनीको पुँजीगत आधार र सुशासनमा पनि अभिवृद्धि गर्नुपर्नेछ,’ उनले भने, ‘कम्पनीहरू स्वस्फूर्त रूपमा मर्जरमा जाउनु भन्न पनि सुविधा थपिएको हो ।’ अबको समय प्रविधिमैत्री सेवा भएकाले कम्पनीहरूको संख्या घटाएर उनीहरूको पुँजीगत आधार र सेवाका गुणस्तर बढाउनुपर्ने उनको भनाइ छ ।

मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले यसअघि पनि १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा थप ८ वटा बुँदा थपेर १८ पुर्‍याइएको छ । अहिले थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन् ।कान्तिपुर दैनिकबाट

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार ११:०९