साइप्रसमा कार्यरत नेपाली श्रमिकको समस्याबारे सरकारलाई ज्ञापनपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

साइप्रसमा कार्यरत नेपाली श्रमिकको समस्याबारे सरकारलाई ज्ञापनपत्र



काठमाडौं । गैर आवासीय नेपाली संघ साइप्रसले त्यहाँ कार्यरत नेपाली श्रमिकको नियमित तलब भत्ता तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहल गर्न माग गर्दै नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाएको छ।

एनआरएनए साइप्रसका अध्यक्ष कुन्दन कार्की, उपाध्यक्ष राजन श्रेष्ठ र एनआरएन साइप्रसका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार कृप थापाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री, कृष्ण कुमार श्रेष्ठ, लाई सोमबार भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

उक्त अवसरमा अध्यक्ष कार्कीले साइप्रसमा रहेका विद्यार्थी, घरेलु कामदार तथा कामदार भिसामा गएका अन्य नेपालीहरूले भोगिरहेका समस्याहरूका बारे मंत्री श्रेष्ठलाई जानकारी गराएका थिए । ‘साइप्रसमा महिला कामदारको सुरक्षाको प्रश्न छन्। कामदारहरुले सम्झौता अनुसार काम नपाउने, एउटा भनेर अर्को काममा लगाउने तथा अंग्रेजी र ग्रीक भाषा नजानेका कारण पनि समस्या व्यहोर्न परिरहेको छ,’उनले भने ।

‘साइप्रसमा अनररी कन्सुलेट मात्रै भएकाले सबै डकुमेन्टहरू इजरायलस्थित नेपाली दूतावासमा पठाउनु पर्छ। त्यसले गर्दा समय र खर्च बढी लाग्ने समस्या छ। त्यहिंको कन्सुलेटलाई प्रमाणीकरण गर्न अधिकार दिन वा नेपाल सरकारले नै कर्मचारी पठाउन पनि हामीले आग्रह गरेका छौं,’ कार्कीले भने।

मन्त्री श्रेष्ठले साइप्रसमा रहेका नेपाली कामदारले भोगेका समस्याका बारेमा नेपाल सरकार गम्भीर रहेको भन्दै समस्या समाधानका लागि साइप्रस सरकारसंग कूटनीतिक पहलकदमी गर्ने वचन दिएका थिए ।

उनले नेपाली कामदारका समस्या समाधान गर्न छिट्टै कदम चाल्ने आश्वासन दिए। मंत्री श्रेष्ठले समय मिलेमा आफुले साइप्रसको भ्रमण गर्ने पनि जनाएका थिए ।जीएनएन

प्रकाशित : २६ माघ २०७८, बुधबार १३:४८