एनआरएनए महाधिवेशन: उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनआरएनए महाधिवेशन: उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)द्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ।

यसअघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।

प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन समय थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

त्यस्तै बैठकले कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संयोजक घलेसंग परामर्श गरी दुवै समितिहरु गठन गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिइएको छ ।

गत वर्ष सम्पन्न जापान, चिली लगायतका राष्ट्रिय समन्वय परिषदहरुको चुनावमा एमआइएस प्रणालीको दुरुपयोग गरी व्यापक धांधली गरिएको भन्ने उजुरीहरु केन्द्रमा परेको थियो।

घले नेतृत्वको उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन् । समितिले आउंदो फेब्रुअरी महिना भित्रै संघको दशौं महाधिवेशन तथा चुनाव गर्ने गरी काम गरिरहेको बताइएको छ।

यसैबीच एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले प्रमुख संरक्षक शेष घलेले एनसीसी अध्यक्षहरुको भेला गरेर सल्लाह, सुझाव र राय लिएर अबको डेलिगेट्सहरु नयाँ निर्वाचित अध्यक्षहरुबाट मागेर चुनाव गराइयो भने त्यो सर्वमान्य चुनाव हुने बताएका छन् । ‘६५,२५ र १० प्रतिशतको लिष्ट पहिला पठाइएको छ । यो त ६ महिना भन्दा पनि बढी भइसक्यो । कतिपय कुराहरु परिवर्तन भइसक्यो होला । त्यसले गर्दा फ्रेस्ली इलेक्टेडबाट सबै २५, ६५ र १० प्रतिशत डेलिगेट्स माग गरियोस्, हामी विधानसम्मत तरिकाले सम्पूर्ण सूची पठाउन तयार छौं,’ सुवेदीले भने ।जीएनएन

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:००