विधानको भावनालाई कदर गर्ने हो भने नयाँ निर्वाचित अध्यक्षले नै डेलिगेट्स नामावली पठाउनु पर्छः एनसीसी अध्यक्षहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विधानको भावनालाई कदर गर्ने हो भने नयाँ निर्वाचित अध्यक्षले नै डेलिगेट्स नामावली पठाउनु पर्छः एनसीसी अध्यक्षहरु



काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अध्यक्षहरुको बहसमा सबै एनसीसी अध्यक्षहरुले संघको १० औं महाधिवेशनका प्रतिनिधिहरु २०२१-२०२३ को लागि निर्वाचित कार्यसमितिले पठाएको अनुसार हुनुपर्छ भनेका छन्।

ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा जनवरी २३, २०२२ आइतबार आयोजित बहस शृंखलामा बोल्दै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले ६५, २५ र १० प्रतिशत डेलिगेट्सको कुरा विशेष अधिवेशनबाट ल्याइयो, त्यसैबाट नै यो विवाद शुरु भएको बताए ।

विधानको भावनालाई कदर गर्ने हो भने नयाँ निर्वाचित अध्यक्षले नै डेलिगेट्स नामावली पठाउनु पर्छ। प्रमुख संरक्षक शेष घलेले एनसीसी अध्यक्षहरुको भेला गरेर सल्लाह सुझाव र राय लिएर अबको डेलिगेट्सहरु अहिले हामी नयाँ निर्वाचित अध्यक्षहरुबाट मागेर चुनाव गराइयो भने त्यो ताजा र सर्वमान्य चुनाव हुन सक्छ। ६५,२५ र १० प्रतिशतको लिष्टमा पहिला पठाइएको छ । यो त ६ महिना भन्दा पनि बढी भइसक्यो । कतिपय कुराहरु परिवर्तन भइसक्यो होला ।त्यसले गर्दा फ्रेस्ली इलेक्टेडबाट सबै २५, ६५ र १० प्रतिशत डेलिगेट्स माग गरियोस हामी विधानसम्मत तरिकाले सम्पूर्ण सूची पठाउन तयार छौं, सुबेदीले भने।

एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधानसम्मत हिसाबले डेलिगेट्सहरुको नाम पठाएकाले त्यसलाई जस्ताको तस्तै मान्यता दिइनु पर्ने बताए। एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले प्रतिनिधि छनोटबारे अष्ट्रेलियामा कुनै विवाद नरहेको तर केन्द्रले नै विवाद सिर्जना गर्न खोजेको जनाए।
एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतमले विधानको आफु अनुकूल व्याख्या गरिएको र डेलिगेट्स छनोटबारे आइसीसीको व्यवहारमा एकरुपता नभएको जनाए।

एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले निवर्तमान कमिटीले एकपक्षीय ढंगले ६५ प्रतिशत डेलिगेट्स छनोट गरेकाले समस्या देखिएको बताइन्।

एनसीसी जापानकी कार्यवाहक अध्यक्ष अनिता गुरुङ, एनआरएन जर्मनीका राजेश लाल श्रेष्ठ, अमेरिकाज क्षेत्रका उप क्षेत्रीय संयोजक राम चन्द्र पोखरेल लगायतका वक्ताले नवनिर्वाचित एनसीसीहरुको भावनाको सम्मान गरेर मात्रै अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित : १० माघ २०७८, सोमबार ११:३८