एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास



लन्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । 

गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी  र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे छ ।

रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडाैंको र्‍याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गरेका छन् । 

गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयकाे निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेकाे बताइएकाे छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुन् ।

गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसकाे ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ । 

सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएकाे अर्काे पक्षकाे आराेप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन् । 
 

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १५:३८