‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ



झापा । भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले निःशुल्क बन्ने सिफारिसका लागि सात लाखको बार्गेनिङ गरेको अडियो रेकर्ड फेला परेको हो । 

पुनर्वास भएर अमेरिका पुगेकी भुटानी शरणार्थी लोकमाया अधिकारीसँग उनका बुबाआमाको ‘ट्राभल डकुमेन्ट’ बनाउन भट्टराईले सात लाख रुपैयाँ माग गरेका हुन् । उनका ८७ वर्षीय बुवा डिल्लीराम अधिकारी र ८० वर्षीया आमा नरमाया शिविरमा एक्लै छन् । उनीहरूलाई शिविरमा बस्दा खाना खुवाएर दिनेसमेत काेही नभएपछि लोकमायाले ‘स्पोन्सर’मा अमेरिका लैजाने तयारी गरेकी थिइन् । स्पोन्सरका लागि सम्पूर्ण तयारी सकिए पनि ‘ट्राभल डकुमेन्ट’ बन्न सकेको छैन । ट्राभल डकुमेन्टका लागि शिविर सुपरीवेक्षकले सिफारिस दिनुपर्छ । त्यो सिफारिस जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा पुग्छ । गृहले राहदानी विभाग ट्राभल डकुमेन्टका लागि सिफारिस पठाउँछ । गृहसम्म जाँदा एक रुपैयाँ पनि पैसा नलाग्ने गृह मन्त्रालयले जनाएको छ । 

भुटानी शरणार्थी शिविरमा सुरेन्द्रराज दाहाल सुपरीवेक्षक छन् । प्राप्त अडियोमा भट्टराईले लोकमायासँग गरेको संवादमा दाहालले नै अह्राएर बार्गेनिङ गरेको प्रष्ट हुन्छ ।  ‘उहाँ (शिविर सुपरीवेक्षक)मार्फत जोडिएर उसले भने जति रकम दिनसक्ने भए काम गर्ने जिम्मा मेरो हो । डकुमेन्ट बनाएर घरसम्मै ल्याइदिन सक्छ । छ/सात लाख भयो भने काम गर्न सकिन्छ,’ लोकमायासँगको सम्पर्कमा भट्टराईले भनेका छन् । भट्टराईले सम्पर्क गरेलगत्तै शिविर सुपरीवेक्षक दाहालले लोकमायालाई सम्पर्क गर्दै भट्टराईले पठाएको म्यासेज हेर्न आग्रह गरेको अडियो न्युज कारखानालाई प्राप्त भएको छ । त्यसपछि म्यासेज हेर्दा भट्टराईले पैसा जम्मा गर्न खाता नम्बरसहितको सुकमाया सुब्बाको नाममा रहेको सिद्धार्थ बैंकको चेक पठाएको लोकमाया बताउँछिन् । सुकुमाया प्रेमकुमारको श्रीमती हुन् ।

वृद्ध बुबाआमालाई हेरचाहका लागि लैजान खोज्दा ‘ट्राभल डकुमेन्ट’ बनाउन सात लाख मागेको लोकमायाले आरोप लगाइन् । अमेरिकामा रहेकी उनले टेलिफोन सम्पर्कमा सात लाख बुझाउन नसक्दा बुवाआमालाई लैजान नसकिएको गुनासो गरिन् । ‘बुवाआमा वृद्ध हुनुहुन्छ । बिरामी हुनुहुन्छ । खाना बनाएर खान पनि सक्नुहुन्न । खाना पकाएर दिने पनि छैनन् । सँगै ल्याउँ भनेर प्रोसेस अघि सारेको ट्राभल डकुमेन्ट सिफारिसका लागि सात लाख माग्नुहुन्छ,’ उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘हामीसँग सात लाख कहाँबाट हुन्छ ? शरणार्थी भएर गएका हामीलाई खान पनि धौ-धौ हुन्छ । घर भाडा तिर्न खान नै मुस्किल हुन्छ । कहाँबाट ल्याउने त्यत्रो पैसा ।’

शिविर सुपरीवेक्षक दाहालले यसअघि पनि भुटानी शरणार्थीलाई विभिन्न बहानामा दुःख दिएको शरणार्थीले गुनासो गर्दै आएका छन् । यद्यपि दाहालले भने अधिकारी दम्पतीलाई दातृ निकाय युएनएचसीआरले अस्वीकार गरेकाले ट्राभल डकुमेन्टका लागि सिफारिस गर्न नमिल्ने बताए । उनले कसैसँग पैसाको बार्गेनिङ नगरेको दाबी गरे । यद्यपि शिविर निरीक्षण टोली संयोजक भट्टराईले भने पैसाको बार्गेनिङ गरेको स्वीकार गरे । पैसाको लोभ देखाएका कारण आफूले खाता नम्बरसमेत पठाएको बताए । ‘म आफैँ माग्दै गएको हैन । मलाई लोभ देखाइयो । आस देखाएपछि मात्र मैले काम गर्न खोजेको हुँ,’ उनी भन्छन्, ‘तर, पैसा पठाउनलाई मैले दबाब पनि दिएको छैन । किन ढिला गरेको पनि भनेको छैन । मेरो लेभलबाट काम नहुने भएपछि मैले यो कामबाट हात झिकेको हुँ ।’

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १४:५२