झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंको अवसर पारेर ज्येष्ठ, एकल महिलालगायत ९३५ सदस्यलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भत्ता स्वरुप सो रकम वितरण गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिँदै आएको बताए ।
उनका अनुसार ५९२ एकल महिलालाई ४७ लाख ३६ हजार रुपैयाँ, २४२ ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ र १२ एकल पुरुषलाई ७२ हजार रुपैयाँ प्रदान गरिएको छ ।
७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पुर्याउनका लागि सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत जनही पाँच लाख प्रदान गर्दै आएको छ । यो राहतबापत १७ जनालाई २६ लाख रुपैयाँ वितरण गरिएको छ । दिवङ्गत भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रमअन्तर्गत १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको सस्थाका उपनिर्देशक दिनेश निराैलाले जानकारी दिए ।
शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरेको छ । कोभिड १९ बाट ज्यान गुमाएका संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष परिवारका तर्फबाट स्थापना गरिएको घोषणा गरिएको छ ।
अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने सस्थाले जनाएकाे छ । सोही कार्यक्रममा बिर्तामोड–८ का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पुर्याएबापत विशेष सम्मान गरिएको छ । उनले आफ्नो श्रीमान्को मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आएका छन् ।
सहाराले जीवन बरदान कार्यक्रमअन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा ६० हजार रुपैयाँ र स्वयं सदस्यको मृत्यु भएमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म राहत प्रदान गर्दै आएको संस्थाका धुलावारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठले जानकारी दिए ।
सदस्य बिरामी हुँदा १० लाख रुपैयाँसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे तीन लाखसम्म उपचार खर्च र कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई सात हजारसहित पोषण सामग्री प्रदान गर्ने समेत उनले बताए ।
Comment