कुमारी साकोसको १८ औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी साकोसको १८ औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १८ औं बार्षिक साधारण सभा असोज ९ गते भर्चुअल तथा भौतिक उपस्थितिमा सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा जेष्ठ नागरिक सदस्य लगायत विभिन्न ब्यक्तीत्वहरुलाई सम्मान गरेको छ ।

संस्थाले जेष्ठ नागरिक सदस्य नरेश मान सिंह श्रेष्ठ, विश्वमणि ज्ञवाली, बलराम अधिकारी, कुमारी कमला गौतम तथा गायत्री कुमारी चालिसेलाई सम्मान गरेको छ । त्यसैगरी संस्थाले सक्रिय शेयर सदस्य सम्मानबाट गंगा रेग्मी न्यौपाने, विधा नायक मानन्धर, राजन प्रसाद तिमिल्सिना र इन्द्र कुमारी फैजुलार्य सम्मान गरेको छ । संस्थाले साधारण सभाको अवसरमा बाल बचतकर्ता सोफिया गिरी र सलिन बस्नेत सम्मान गरेको छ ।

त्यसैगरी संस्थामा लामो समय रहेर सेवा गर्ने कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा १५ वर्ष देखि निरन्तर कार्यरत नायब महाप्रबन्धक दिपेश कार्की सम्मानीत भएका छन् । त्यसैगरी संस्थामा ५ वर्ष देखि कार्यरत कर्मचारी गंगा देबी गुरुङ्ग र राधिका दंगाललाई सम्मान गरेको छ । स्टाफ अफ द इयरको रुपमा संस्थाका कर्मचारी धनमाली खड्का, शंकर दंगाल र राजकुमार राउत प्रशंसा पत्र तथा नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले संस्थाको आर्थिक वर्ष ०७७÷०७८ को प्रगती प्रतिवेदन तथा आव ०७८÷०७९ को निती, कार्यक्रम तथा वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्था पूर्ण प्रबिधिमैत्रि बनेको र देशभरिका कुनैपनि बैंकको एटिएम मार्फत संस्थाको सेवा लिन सकिने जानकारी गराए । संस्थाले संचालन गरेको एसएमएस मोबाइल बौंकिङ, एटिएम सेवा प्रयोग गर्न सदस्यलाई आग्रह गरे । उनले संस्थाले सदस्यलाई आर्थिक कारोबारमा मात्र सहभागीता नगराएर उनीहरुको सामाजीक र सास्कृतिक पक्षमा पनि सहयोग गरेको बताए । उनले भने सदस्यको नवजात शिशुको नाममा निशुल्क खाता खोल्ने, बाल बचतकर्ताहरुकालागि जन्मदिनको उपहार प्रदान गर्नै, मृत सदस्यको परिवारकालाई ५ हजार राहत दिने कार्यलाई निरन्तरता दिएको छ । त्यसैगरी सदस्यलाई घातक रोग लागेर आपतमा ५० हजार सम्म उपचार खर्च सहयोग गरेको जानकारी दिए ।

संस्थाले यस आवमा ८ करोड २९ लाख ७९ हजार रुपैयाँ शेयर पूंजी, १ अर्व ५१ करोड १९ लाख १८ हजार १ सय ४९ रुपैंया बचत संकलन रहेको जानकारी गराए । त्यसैगरी संस्थाले आर्थिक वर्ष ०७७÷०७८ मा १ अर्व २० करोड ८ लाख ५९ हजार ७ सय ९० रुपैंया ऋण लगानी गरेको जानकारी दिए । १ अर्व ७० करोड ५२ लाख १५ हजार ९ सय ९८ रुपैंयाको कुल कारोबार गरेको संस्थाले १ करोड २३ लाख ५० हजार ४ सय १० रुपैंया खुद नाफा गरेको छ ।

संस्थाका जेष्ठ नागरिक सदस्य मंगलराज केसी को प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा संस्थाका लेखा समिति संयोजक किरणकुमार श्रेष्ठले आर्थिक वर्ष ०७७÷०७८को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिइरहेको छन् । संस्थाले ३६५ दिने काउण्टर सेवा दिएको छ । सभामा अध्यक्ष न्यौपानेले संस्था एकिकरण, सेवाकेन्द्र विस्तारलगायतका विषयमाथि छलफल तथा निर्णय गरेको जानकारी गराए ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०६:४०