कांग्रेस अधिवेशन : तीन तहमा सर्वसम्मत, तीनमा मतदान, रामहरि खतिवडाको क्षेत्रमा विवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस अधिवेशन : तीन तहमा सर्वसम्मत, तीनमा मतदान, रामहरि खतिवडाको क्षेत्रमा विवाद



ओखलढुंगा । नेपाली कांग्रेसको पालिका तहको अधिवेशनमा तीन तहमा सर्वसम्मत सभापति चयन भएका छन् । खिजीदेम्वा, लिखु र चम्पादेवीमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जिल्ला सभापति प्रदीप सुनुवारको पालिका खिजीदेम्वामा राम सुनुवार सहमतिमा सभापति भएका छन् । त्यस्तै लिखुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी चयन भएका छन् । उनीहरु सबै संस्थापन अर्थात् प्रदीप सुनुवार पक्षका हुन् । उनी देउवा निकट हुन् ।

त्यस्तै तीन तहमा उम्मेदवारी दर्ता सकिएर मतदान शुरु भएको छ । सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढीमा मतदान शुरु भएको छ । यी तिनै पालिकामा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुनावी मैदानमा छन् भने सिद्धिचरणमा प्रेम गुरुङ र निबन्द श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

थापा र गुरुङ देउवा अर्थात् संस्थापन पक्षका हुन् भने राई र श्रेष्ठ पौडेल कोइराला पक्षका हुन् । त्यस्तै सुनकोसी गाउँपालिकामा मनोनय दर्ता सकिएको छ । सभापतिमा ३ जना र उपसभापतिमा ७ जनाले उम्मेदवारी दर्ता गरेको नेतृ अर्चना लुइँटेलले जानकारी दिइन् ।

उनकाअनुसार सचिवमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा विष्णु खड्का, हरिचन्द्र श्रेष्ठ र ढुण्डीराज पहाडीले उम्मेदवारी दर्ता गरेका छन् ।

रामहरिका गाउँमा लफडा

संविधानसभा सदस्य तथा काँग्रेस नेता रामहरी खतिवडाको मानेभञ्ज्याङ गाउँपालिकामा भने विवादका कारण निर्वाचन प्रक्रिया साँझ पाँच बजेसम्म शुरु भएको छैन । त्यहाँ प्रदेश सभाका बागी उम्मेदवारको क्रियाशील सदस्यता र प्रतिनिधिमाथि भएको कारवाहीको विषयले लफडा भएको हो ।

मानेभञ्ज्याङमा पार्टीबाट निष्काशन गरिएका ज्ञानेन्द्र रुम्दाली र रामजी बास्तोलाको सदस्य तथा र प्रतिनिधिको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया शुरु नभएको हो । विवादबारे संविधानसभा सदस्य तथा नेता खतिवडाले छलफल जारी रहेको बताए । उनले भने, ‘प्रकृया अघि बढिसकेको छ ।’

तस्बिर: सर्वसम्मत नेतृत्व चयन भएपछि तस्वीर खिचाउँदै खिजीदेम्वा गाउँ कार्यपालिका सभापित रामकुमार सुनुवार लगायत पदाधिकारी ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार २०:४४