काठमाडाै । सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारणसभा सम्पन्न गरेको छ । साविक धौलागिरी अन्चलमा सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ गरेको थियो । सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा गरेको हो ।
सस्थाले आर्थिक वर्ष २०७८ असार मसान्त सम्म १८ हजार ४ सय ६५ शेयर सदस्य,३२ करोड ५४ लाख ५० हजार शेयर पुँजी तथा कुल सम्पत्ति १ अर्व ९५ करोड ,७४ लाख पु¥याएको विस्तारित मञ्चमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले चालु आव २०७८/०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको छ ।
चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ । सहकारीका सदस्यले आफु सदस्य रहेको सेवा केन्द्रमा आगामी ७ गते सम्म उपस्थित भई सुझाव सल्लाह दिने व्यवस्था गरिएको सहकारीका केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए।
सो अवसरमा सवै सेवा केन्द्रमा उत्कृष्ट सदस्य, असल उद्यमी, असल बचतकर्ता र असल बालबचतकर्ता लाई सम्मान गरिएको थियो । सो अवसमार ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षणकालागी नगद ५ हजार सहित सम्मान गरिएको छ ।
संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।
एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने सहकारीले जनाएको छ ।
Comment