पूर्व आइजिपी बाेहराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पूर्व आइजिपी बाेहराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजिपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरूको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।्नयाँ बानेश्वर संगमचोकस्थित पूर्व आइजिपी मोतीलाल बोहराको घरसहित बिभिन्न १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले रामेछापका सञ्जीव खड्का, हेटौंडाका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ र देव तामाङसहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदीप यादव र रामेछापका शंकर कठायत पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले राति घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको खुलेको जानकारी दिए ।

काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट एभोकाडो चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खापुङका अनुसार प्रहरीले शान्तिनगरमा सटर फुटाउँदै गरेका सञ्जीव खड्कालाई पक्राउ गरेपछि एभोकाडो चोरीको रहस्य खुलेको हो ।

खड्काको गोजीमा एउटा एभोकाडो भेटिएपछि उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी चोरीमा संलग्नहरूको गिरो पक्राउ गर्न सफल भएको खापुङले बताए । बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट एभोकाडो चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

‘बजार मूल्य प्रतिकिलो साढे तीन सयदेखि चार सय रुपैयाँ पर्ने एभोकाडो उनीहरूले डेढ सयदेखि दुई सयमा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरूले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेको पाइएको छ । एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार ११:३२