नेकपा (एस)ले बिहीबार महासचिव चयन गर्ने, कमिटीहरू टुंगो लगाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेकपा (एस)ले बिहीबार महासचिव चयन गर्ने, कमिटीहरू टुंगो लगाउने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भोलि (बिहीबार) महासचिव चयन गर्ने भएको छ ।

मंगलबारदेखि जारी केन्द्रीय कमिटीको पहिलो बैठक भोलि पनि बस्नेछ । भोलि ११ बजेदेखि बस्ने बैठकले महासचिव चयन गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘भोलिको बैठकमा महासचिव चयन गर्नेछौँ’, उनले भने, ‘यसैगरी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूको भोलि नै अन्तिम टुंगो लगाउनेछौँ ।’

महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, ‘पुराना-नयाँ पुस्ता दुवैको दाबी छ । हामी छनोट गर्छौं ।’

भोलिको बैठकबाट तीन महिने कार्ययोजना पारित गर्ने उनले जानकारी दिए । तीन महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य रहेको उनले सुनाए ।

उनका अनुसार आजको बैठकले अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको, समाजवाद नामको मुखपत्र पार्टीका नाममा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

चुनाव चिह्नमा पनि छलफल भएको र चाँडै टुंग्याउने खतिवडाको भनाइ थियो । ‘चुनाव चिह्नमा धेरै सुझाव आएको छ । त्यसबाट छनोट गरेर चाँडै निर्वाचन आयोगमा जान्छौँ’, उनले भने ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १८:२५