नबिल बैङ्कको पाँचखाल र पनौतीसँग उद्यमशीलता विकास र वित्तीय पहुँचमा साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैङ्कको पाँचखाल र पनौतीसँग उद्यमशीलता विकास र वित्तीय पहुँचमा साझेदारी



काठमाडौँ। नबिल बैङ्कले काभ्रेपलान्चोक जिल्लाका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको समझदारी गरेको छ। समझदारी अनुसार पनौती नगरपालिकामा नबिल बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपानेले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। त्यस्तै पाँचखाल नगरपालिकामा नबिल बैङ्कका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त साझेदारी मार्फत नगरपालिका हरूले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैङ्कले उद्यम गर्न बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम–तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैङ्कले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजात शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरू सुन्न आतुर भएको बताए ।

त्यस्तै पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैङ्कसम्म पुर्‍याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैङ्किङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैङ्कसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताए।

नबिल बैङ्कले असार १५ गते धान दिवसका दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ ।

बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको जनाएको छ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार १३:००