काठमाडाैं । भक्तपुरका ५ वटा सहकारी संघसंस्थाले अक्सिजन प्लान्ट निर्माणको लागि ३० लाख आर्थिक सहयोग गरेका छन् । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्न सहकारीहरुलाई आव्हान गरेसँगै पहिलो चरणमा ५ वटा संघसंस्थाबाट ३० लाख रकम नगरपालिकालाई उपलब्ध गराएका हुन् ।
सहकारी संस्थाका तर्फबाट गएका प्रतिनिधिले उपमेयर रजन जोशी र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेको भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जानकारी दिए ।
कोभिड १९ को दोश्रो लहत तीब्र रुपमा फैलिएसँग संक्रमितहरुको संख्या एकैपटक धेरैहुँदा आइसोलेसन बेड र अस्पतालमा अक्सिजनको अभाव भएको थियो ।
नगरपालिकाले त्यसलाई मध्यजनर गर्दै अक्सिजन प्लान्ट बनाउने निर्णय गर्दै संघसंस्थाहरुलाई सक्दो सहयोग गर्न आव्हान गरेको थियो । त्यसै अनुरुप आफूहरुले सहयोगको हात बढाएको अध्यक्ष लाखाजुले जनाए ।
प्लाण्ट निर्माणका लागि सिद्धिगणेश साकोले १० लाख, भक्तपुर साकोसले १० लाख, संगम साकोसले ५ लाख, बाराही साकोसले ४ लाख र बचत संघको तर्फबाट १ लाख रुपैया एकमुष्ट हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले भक्तपुर नगरपालिकामा रहेका १२० संस्थालाई नै सहयोगका लागि आव्हान गरेको र अन्य संस्थाले पनि यसमा सहभागिता जनाउने जानकारी अध्यक्ष लाखाजुले बताए ।
प्लाण्ट निर्माणका लागि ८० लाख देखि १ करोडसम्म लागत लाग्ने र सहकारीहरुको तर्फबाट ५० लाखको हारहारीमा रकम जुटाउने प्रयास रहेको उनले जानकारी दिए ।
यस अभि पनि आइसोलेसन केन्द्र बनाउन नगरपालिकालाई सहकारी संघ र संस्थालहरुले ४५ लाख रुपैया सहयोग गरिसकेका छन् । भोलि अर्थात् सोमबार मात्रै बचत संघ र बालकुमारी साकोसले १ लाख १२ हजार बराबरको २ थान अक्सिजन मेसिन कोरियन अस्पताललाई दिने भएका छन् ।
भक्तपुर नगरपालिकाका ८६ संस्था बचत संघमा आवद्ध रहेका छन् ।
Comment