ब्रोकरले साउन १ गतेबाट आफ्नै टीएमएस सञ्चालनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

ब्रोकरले साउन १ गतेबाट आफ्नै टीएमएस सञ्चालनमा ल्याउने



धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आउँदो साउन १ गतेबाट आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन्।

ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा सेयर कारोबारको लागि नयाँ टिएमएस ल्याउनेदेखि सेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास भइरहेको जनाएको हो।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरुमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको जनाएको छ। ब्रोकर्स एसोसिएसनका अनुसार सबै पक्षको सहयोग भएमा सेयर लगानीकर्ताहरुले आगामी साउन १ गतेबाट नयाँ टिएमएसबाट कारोबार गर्न पाउनेछन् ।

ब्रोकर्स एसोसिएसनको विज्ञप्ति भनिएको छ “सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा गरेका छौ ।” Multi Asset, Multi Exchange Trading Platform रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै Mobile Application सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्नेछ । अर्थतन्त्र, बजार तथा सूचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार ११:१०