सहकारीलाई प्रविधि मैत्री बनाउनु पर्छः पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

सहकारीलाई प्रविधि मैत्री बनाउनु पर्छः पौडेल



काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् ।


६४ औं राष्ट्रिय सहकारी दिवस अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए ।

प्रतिस्पर्धी अर्थतन्त्रमा सहकारी संस्थालाई सवल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रुपमा विकास गर्न आग्रह गर्दै सहअध्यक्ष पौडेलले सहकारी संस्थामा सरल र सुलभ रुपमा प्रविधि सेवा विस्तार गनुपर्ने आवश्यकता रहेको औंलाए ।

सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको पौडेलद्वारा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।


यो वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारासहितसहकारी दिवसको अवसर मनाइँदैछ ।

मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आवद्ध छन् ।


संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले सबै सहकारीकर्मीलाई प्रेरणा प्रदान गर्नेमा सहअध्यक्ष पौडेलले विश्वास व्यक्त गरेका छन् ।

‘संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ,’ सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।


सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बताउँदै सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिन आग्रह गरेका छन् ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार १५:४१