सी–आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति लिन्छन् शुल्क ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सी–आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति लिन्छन् शुल्क ?



काठमाडौं । सी–आस्बा सेवा दिएबापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्छन् । २७ वाणिज्य बैंकमध्ये १३ ओटाले सी–आस्बा सेवामा शुल्क लिएका छन् भने बाँकीले निःशुल्क सेवा दिँदै आएका छन् । तीमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी रू. १०० र बाँकी बैंकले रू. १० देखि २५ सम्म यस्तो शुल्क लिएको देखिन्छ ।

कतिपय बैंकले आफ्ना ग्राकहलाई सुविधा पु¥याउन र बैंकप्रति आकर्षण बढाउन निःशुल्क आस्बा दिँदै आएका छन् । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने आवेदन भरेपिच्छे रू. १०० शुल्क लिएको गुनासो सामाजिक सञ्जालमा व्यापक रूपमा आउने गरेको छ । यद्यपि यो दर नियमभित्र पर्छ । हालसम्म ६४ ओटा बैंक तथा वित्तीय संस्थाले सी–आस्बा सेवा दिएका छन्, जसले गर्दा आईपीओ भर्न बैंकमा लाइन बस्दा खेर जाने समयको बचत भएको छ ।

नेपाल धितोपत्र बोर्डले ल्याएको आस्बा निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरीद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा रू. १०० लिन पाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले लिने शुल्कको बारेमा दरखास्त संकलन शुरू गर्नुभन्दा कम्तीमा ३ दिनअघि दैनिक पत्रिका वा कार्यालयको सूचना पाटी वा वेबसाइटमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर बैंकहरूले लिने शुल्क पत्रिकामा खुलाउने गरेका छैनन् । उनीहरूको वेबसाइटमा पनि देखिँदैन । यसरी आईपीओ भरेपिच्छे नै रकम काटिने व्यवस्था परिवर्तन गरेर आईपीओ परेको खाताबाट मात्र रकम काट्न र नपरेको खाताबाट नकाटिने व्यवस्था गर्न लगानीकर्ताको माग छ । आवेदन दिएपिच्छे रकम काट्नुभन्दा डिम्याट र मेरो शेयर जसरी वार्षिक शुल्क तोकिनुपर्ने माग उनीहरूले गरेका छन् । कतिपय बैंकले आईपीओ विक्री बन्द भएको १ हप्तासम्म पनि ब्लक भएको रकम फुकुवा नगरेको गुनासो आइरहेको छ । धितोपत्र बाँडफाँट भएकोे बढीमा ३ कार्य दिनभित्र शेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गर्नुपर्ने प्रावधान छ । लक्ष्मी शर्मा, आर्थिक अभियान दैनिकबाट साभार

प्रकाशित : २१ भाद्र २०७७, आईतवार ०९:२७