काठमाडौं । कोरोनाको संक्रमण संगै सेयरको दोस्रो बजार लगातार ओरालो लागेर लगानीकर्ता हतोत्साही मानसिकतामा पुगेका बेला चालु आर्थिक वर्षमा करिब साढे चार अर्ब बराबरको आईपीओ पाइपलाइनमा छ ।
विभिन्न क्षेत्रका १६ कम्पनीले चार अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन ।
बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बिमा कम्पनी र ४ वटा अन्य कम्पनी छन् । बोर्डले सार्वजनिक निष्कासनका लागि प्राप्त भएका आवेदनहरूको अध्ययन गरिरहेको र केही कम्पनीको आवश्यक कागजात पूरा नभएकाले थप विवरण माग गरिएको जनाएको छ ।
नेपाल धितोपत्र बार्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स छन् । दुवै कम्पनी आईपीओ निष्कासन अनुमति पाउने अन्तिम चरणमा पुगेका छन् । दुवै कम्पनीले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग गरेका छन् ।
यस्तै मध्य भोटेकोसी जलविद्युत् कम्पनीले पनि स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल १ अर्ब ५० करोडबराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँबराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
ग्रिनलाइफ हाइड्रोपावरले स्थानीयलाई बिक्री नभएको १६ लाख ९६ हजार ४० कित्तासहित ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको ४३ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर बिक्रीका लागि बोर्डमा अनुमति माग गरेको छ । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटलले पनि ३ करोडबराबरको ३ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ।
यस्तै चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको १८ लाख ४० हजार ९१० कित्ता, इमर्जिङ नेपालले ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।
तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता र शिवम् पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको ५ लाख ८० हजार ५८० कित्ता सेयर स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि बिक्री गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।
डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँबराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। विन्धावासिनी हाइड्रोपावरले २५ करोड रुपैयाँबराबरको २५ लाख कित्ता र हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर स्थानीय आयोजना प्रभावित र सर्वसाधारणमा बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।
१६ वटा कम्पनीमध्ये १५ वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ जारी गर्ने अनुमति माग गरे पनि रुरु जलविद्युत् परियोजनाले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० प्रतिशत प्रिमियम थप गर्दै ८ करोड ९६ लाख ९२ हजार २२० रुपैयाँबराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
१६ वटा कम्पनीमध्ये ४ वटा कम्पनीको आवेदनमा प्रारम्भिक अध्ययन भइरहेको, ५ वटा कम्पनीको प्रारम्भिक अध्ययन सकेर थप विवरण माग गरिएको र ७ वटा कम्पनीका थप विवरण पनि अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ ।
Comment