एनआरएन इन्फास्ट्रक्चरको आईपिओ बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआरएन इन्फास्ट्रक्चरको आईपिओ बिक्रि खुला



गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आज साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ । बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आवेदनमा छिटोमा साउन २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल १४.३ मेगावटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत परियोजनाहरुमा लगानी गरेको छ ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ११:२३