डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन



काठमाडाै । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ । राष्ट्र बैंकको सोमबार बिहान बसेको बोर्ड बैठकले श्रेष्ठमाथि छानविन गर्न सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिका अन्य सदस्यमा सञ्चालकहरु रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण छन् ।

छानबिन समितिले एक महिनाको समयसीमा पाएको छ । समितिले एक महिना भित्र उनी माथि लागेको आरोपको छानविन गरी बोर्डमा प्रतिवेदन पेश गर्नु पर्ने छ । उनी दोषी देखिएमा उनलाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे बर्खास्त गर्न समेत सकिने प्रावधान छ ।

मन्त्रिपरिषद्को बैठकले नै उनी माथि छानविन गर्ने निर्णय गरेको थियो । डेपुटी गभर्नर श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ ।

सोमबार बसेको बैठकले भने यस्तो निर्णय गरेको हो । ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार ११:१२