८ लाखबाट सुरु भएको नेपाल बैंकको यात्रा १४ अर्बको पुँजीसम्म, ९०औँ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

८ लाखबाट सुरु भएको नेपाल बैंकको यात्रा १४ अर्बको पुँजीसम्म, ९०औँ वर्षमा प्रवेश



काठमाडौं । नेपालको बैंकिङ इतिहासमा नयाँ अध्याय थपेको नेपाल बैंक लिमिटेडले ८९ वर्षको यात्रा पूरा गर्दै ९०औँ वर्षमा प्रवेश गरेको छ। सामान्य बचत र वित्तीय कारोबारसमेत सीमित रहेको समयबाट सुरु भएको बैंक आज चार खर्बभन्दा बढी निक्षेप परिचालन गर्ने संस्थाका रूपमा विस्तार भएको छ। यही पृष्ठभूमिमा केही लगानीकर्ताको पहलमा स्थापना भएको नेपाल बैंक लिमिटेडले अहिले आफ्नो यात्राको ९०औँ वर्ष सुरु गरेको छ ।

नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंकले आज २०८३ कात्तिक ३० गतेदेखि ९०औँ वर्षमा प्रवेश गरेको हो । ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । स्थापनाको झन्डै नौ दशकमा बैंकले आफ्नो वित्तीय आकार मात्र बढाएको छैन, नेपालको बैंकिङ प्रणालीको विकास र विस्तारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

वि.सं १९९४ कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार १० जना लगानीकर्ताले नेपाल बैंक स्थापना गरेका थिए । त्यतिबेला बैंकिङ सेवा सर्वसाधारणको पहुँचमा थिएन । वित्तीय कारोबार नगदमा निर्भर थियो भने बचत तथा कर्जाको औपचारिक अभ्यास पनि सीमित थियो । यस्तो अवस्थामा स्थापना भएको नेपाल बैंकले सर्वसाधारणमा बचत गर्ने संस्कृतिको विकास गर्नेदेखि व्यापार व्यवसाय र उद्योगधन्दालाई वित्तीय पहुँच उपलब्ध गराउनेसम्मको काममा अग्रणी भूमिका निर्वाह गर्यो ।

नेपाल बैंकको इतिहास केवल एउटा वित्तीय संस्थाको स्थापना र विस्तारको कथा मात्र होइन । यो नेपालको आधुनिक बैंकिङ प्रणालीको विकाससँग जोडिएको इतिहास पनि हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले केन्द्रीय बैंकको समेत भूमिका निर्वाह गरेको थियो । स्थापना भएको दुई दशकसम्म बैंकले देशको मौद्रिक तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्यो ।

वि.सं २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि नेपाल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसबेला देशको वित्तीय कारोबार व्यवस्थित गर्ने, मुद्राको प्रयोग विस्तार गर्ने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढाउने काममा बैंकको योगदान उल्लेखनीय रह्यो ।

नेपाल राष्ट्र बैंक स्थापना भएपछि केन्द्रीय बैंकको जिम्मेवारी छुट्टिए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा आफ्नो सेवा विस्तारलाई निरन्तरता दियो । सरकारी तथा निजी क्षेत्रका वित्तीय आवश्यकतादेखि सर्वसाधारणको निक्षेप र कर्जासम्म बैंकले आफ्नो उपस्थिति कायम राख्यो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार स्थापना कालदेखि नै निरन्तर सेवा प्रवाह गर्दै आएको नेपाल बैंक बैंकिङ क्षेत्रको पर्यायका रूपमा स्थापित भएको छ । उनका अनुसार बैंकले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात ६२.८५ प्रतिशत छ ।

पछिल्लो तथ्याङ्कअनुसार बैंकका ग्राहक संख्या करिब २९ लाख २४ हजार पुगेको छ । बालबालिकादेखि युवापुस्ता, रोजगारीमा रहेका व्यक्ति, व्यवसायी तथा ज्येष्ठ नागरिकसम्म बैंकको सेवा उपयोग गरिरहेका छन् । सरकारी बैंकिङ कारोबारसमेत सञ्चालन गर्ने जिम्मेवारी पाएको नेपाल बैंकले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्दै वित्तीय सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने प्रयास गरेको छ । हाल बैंकका २३० वटा शाखा र ५७ वटा विस्तारित काउन्टर सञ्चालनमा छन् । त्यस्तै, २५० वटा स्वचालित नगद वितरण केन्द्रमार्फत ग्राहकलाई नगद कारोबारको सुविधा उपलब्ध गराइएको छ ।

बैंकमा करिब तीन हजार ६०० कर्मचारी कार्यरत छन् । यसमा बाह्य स्रोतबाट सेवा लिइएका कर्मचारीसमेत समावेश छन् ।
बैंकिङ सेवा प्रविधिमैत्री बन्दै जाँदा नेपाल बैंकले पनि डिजिटल माध्यमबाट सेवा विस्तार गरिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या १० लाख पुगेको छ ।

शाखामै उपस्थित भएर गर्नुपर्ने कारोबारलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयासले ग्राहकलाई समय र लागत बचत गर्ने सुविधा दिएको छ । मोबाइल बैंकिङ तथा स्वचालित नगद वितरण केन्द्रको विस्तारले बैंकको सेवा प्रवाहलाई थप सहज बनाएको छ ।

विशेषगरी नयाँ पुस्ताका ग्राहकलाई डिजिटल माध्यमबाट जोड्ने र परम्परागत बैंकिङ सेवालाई प्रविधिसँग समायोजन गर्ने चुनौती बैंकका लागि महत्वपूर्ण बनेको छ ।

प्रकाशित : 16 November, 2026 8:20 am