मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च



काठमाडौँ ।आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा मूल्यवृद्धि झण्डै ७ प्रतिशत पुगेको छ । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको हाे । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत पुगेको छ।

यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१/७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो। उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा देखिएको थिएन । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो। यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ।

प्रतिवेदनका अनुसार गत साउनमा भारतमा मूल्य वृद्धिदर ३.२१ प्रतिशत मात्र छ । ०७५ साउनमा भारतमा यस्तो वृद्धिदर ३.७ प्रतिशत थियो। राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत साउनमा तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि औसत ६.८५ प्रतिशतले बढेको छ । त्यही अवधिमा गैरखाद्य तथा सेवा समूहमा रहेका घरायसी उपयोगीका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षाको मूल्य वृद्धिदर २.२१ प्रतिशत मात्र छ।

‘ठमाडौं उपत्यकामा औसत मूल्य वृद्धिदर ८.६३, तराईमा ६.४६, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत छ,’ प्रतिवेदनले औंल्याएको छ, ‘०७५ साउनमा काठमाडौं उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ प्रतिशत र हिमालमा २.७४ प्रतिशत मूल्य वृद्धिदर थियो।’

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १२:२७