कागजमा योजना देखाउनेलाई काम नदिनुः मन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कागजमा योजना देखाउनेलाई काम नदिनुः मन्त्री अर्याल



भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आज (आइतबार) भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो । ‘योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस । काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भन्नुभयो ।

त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’

जनताको अपेक्षा यही पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक स्प्रिटमा अगाडी बढिरहेको बताउनुभयो । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उहाँको भनाइ थियो ।

नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंका/अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताउनुभयो । 

स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तराष्ट्रिय जगत पनि अचम्मित भएको भन्दै उहाँले दुनिया कसैले कल्पना नगरेको कुरा नेपालले व्यवहारबाट देखाइदिएको बताउनुभयो । त्यसकारण अब गणतन्त्रलाई सफल बनाउने भनेको काम गरेर नै सफल बनाउनुपर्ने बताउनुभयो ।

हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गर्नुभयो । अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथी प्रश्न उठाउने ठाउँमा पुर्‍याउनेगरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था रहेको उहाकझ भनाइ थियो ।

यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

एक वर्षको अवधीमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उहाँले यो सरकारले नेपालमा एक वर्षमा कुशलतापूर्वक संघियता कार्यान्वयन गर्न सकेर विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताउनुभयो ।

अब विकासका निम्ती हिजोका नमिलेका पुराना कानुनहरूलाई संशोधन गर्दै जानुपर्ने भन्दै अहिलेको कानुन भनेको आजको आवश्यकतालाई समाधान गर्ने खालको हुनुपर्ने बताउनुभयो । त्यसैअनुसार अहिले त्यो खालका कानुन निर्माणमा सरकारले फड्को मारेर अगाडी बढेको समेत मन्त्री अर्यालको भनाइ थियो ।

हिजोको दुई वर्ष अगाडीको स्थानीय पालिका र अहिलेको स्थानीय पालिकामा निकै भिन्नता आएको भन्दै उहाँले अब बिकासका निम्ती योजनाबद्ध तरिकाले स्थानीय पालिकामा जाने हो भने धेरै काम गर्न सकिने अपेक्षा राख्‍नुभयो ।  

जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकाहरूलाई आग्रह गर्नुभयो । विकास र समृद्धिको अभियानमा सहकारीलाई सामेल गराएर आर्थिक समृद्धिको अभियानमा योगदान दिन उहाँको आग्रह थियो ।

त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस. अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १७:०८