सहकारी संस्था माथि कठोर बन्दै काठमाडौं महानगरपालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी संस्था माथि कठोर बन्दै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थामाथि कडाइ थालेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

सहकारी संस्था व्यवस्थापनको नीति अख्तियार गर्दै महानगरले सहकारीमाथि कडाइ गर्न लागेको हो ।

महानगरको सहकारी विभागका अनुसार झन्डै १९ सयको हाराहारीमा रहेका सहकारीलाई व्यवस्थापन गरी तीन वर्षभित्र ६ सय बनाउने तयारी थालिएको छ ।

महानगरका सहकारी विभाग संयोजक नमराज ढकालका अनुसार महानगर क्षेत्रमा १ हजार ८४८ को संख्यामा सहकारी संस्था छन् ।

यसमध्ये १ हजार ६३८ बचत तथा ऋण सहकारी र ७५ महिला सहकारी रहेका छन् । ढकालले सहकारी ऐन, २०७४ अनुसार सहकारीलाई व्यवस्थित गरी संख्यालाई भन्दा गुणस्तर बढाउन सहकारी संस्था व्यवस्थित गर्न लागिएको बताए ।

ढकालले भने, ‘सरकाररको नीतिअनुसार नै हामीले सहकारीको संख्या घटाएर व्यवस्थित गर्ने तयारी थालेका हाैँ । हामी जसरी पनि महानगर क्षेत्रमा भएका सहकारीलाई व्यवस्थित गरेर संख्या घटाउने क्रममा छौं ।’

उनले सहकारीलाई क्रियाशील बनाउन स्थलगत र कार्यालयगत अनुगमन गर्ने गरिएको जानकारी दिए । उनले सहकारीको गतिविधि अनुगमन गर्न ‘कोपोमस’ नामक सफ्टवेयर प्रयोगमा ल्याएको जानकारी दिँदै सोही सफ्टवेयरमार्फत सहकारीको कारोबार कार्यालयबाटै अनुगमन गर्न सकिने बताए ।

‘हाल महानगर क्षेत्रमा रहेका सहकारीले ४२ अर्ब लगानी गरेका छन् भने सहकारीको ५२ अर्ब बचत र ७ अर्बको सेयर रहेको छ । ती सहकारीमा २ लाख सदस्य रहेको विभागको तथ्यांक छ ।

सहकारी कार्यालयको तथ्यांकअनुसार हाल ९ सय सहकारी मात्र सक्रिय अवस्थामा छन् । त्यस्तै, ५ सयको संख्यामा निष्क्रिय रहेको र झन्डै ३ सय बढी सहकारी कार्यालय नै स्थापना नगरी सञ्चालन गरिएको पाइएको छ ।

प्रकाशित : १९ श्रावण २०७६, आईतवार ०७:५८