ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने



काठमाडौं । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । आधा दर्जन बढि संस्थालाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि आजै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ।

ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। ग्लोबलले जनतालाई अनुमानीत ८५ प्रतिशत स्वाप दिएमा दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने समझदारी भएको छ। सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमतीसमेत भएको छ ।

प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् भने बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्।

मर्जरका लागि मर्जर संयुक्त कमिटी समेत गठन भएको छ । यसमा लागि दुबै बैंकका तर्फबाट ३/३ जना गरि ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ। कमिटीका संयाेजक ग्लोबल आईएमई बैंकका सुदर्शन कृष्ण श्रेष्ठलाई तोकिएको छ भने सह संयोजक जनता बैंकका गौतम प्रसाद खनाल रहने छन्।

कमिटीका अन्य सदस्यहरुमा ग्लोबल आईएमई बैंकको तर्फैबाट सुमन पोखरेल र नुमनाथ पौडेल तथा जनता बैंकको तर्फबाट रामप्रसाद भण्डारी र सञ्जिब न्यौपाने रहेका छन्। संयुक्त मर्जर कमिटीको कार्यालय ग्लोबल आईएमई बैंकको कार्यालय पानीपोखरीमा रहने बताइएको छ।

प्रकाशित : २० असार २०७६, शुक्रबार १३:२६