नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता



काठमाडौँ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ ।
राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
साथै दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकताअनुसार नीति निर्माण कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ ।

प्रकाशित : ८ बैशाख २०७६, आईतवार १७:५५