काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार राति निधन भएको हो । लामो समय अचेल अवस्थामा रहनुभएका अधिकारीलाई अस्पतालले राति ९ः३५ मा मृत घोषणा गरेको हो ।
६ दशक राजनीतिमा सक्रिय नेता अधिकारीले अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो । वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजनामा अगाडि बढेको थियो ।
संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्व सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दा पनि उहाँले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभयो । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।
पटकपटक सरकारमा रहेर उल्लेखनीय काम गर्नुभएका अधिकारीले पहिलो पटक अर्थमन्त्री हुँदा अघि सारिएका कार्यक्रमहरु वृद्धभत्ता जस्तै ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, र सुत्केरी खर्च जस्ता कार्यक्रमहरु अत्यन्तै लोकप्रिय बनेका छन् ।
७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीतिबमोजिम उहाँले नेकपा एमालेको नवौँ महाधिवेशनबाट अवकाश लिनुभयो । देशकै मूर्धन्य अर्थशास्त्रीमा गणना हुने अधिकारी पटकपटक मन्त्री रहँदा चरित्र निष्कलंक र बेदाग रहनु भयो । पूर्वउपप्रधानमन्त्री अधिकारीको पत्नी र दुई छोरी हुनुहुन्छ ।
Comment