बिहीबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहीबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु



बिहीबारको कान्तिपुर दैनिकले काठमाडौ अब कस्तो बन्नेछ भन्ने बारेमा समाचार प्रकाशित गर्दै पुनःनिर्माणबारे चासो जगाएको छ । पूर्व प्रधानमन्त्री डा. बाबृराम भट्टराई र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेल समेतको भनाई उल्लेख गर्दै काठमाडौलाई अब स्याटेलाईट सिटीको रुपमा बिकास गर्नुपर्ने धारणा अघि सारिएको छ । काठमाडौको भित्री शहरहरुलाई पुर्ननिर्माण गरी पूर्ववत अबस्थामा ल्याउने र ब्यवसायिक प्रयोजनका लागि बाहिरी क्षेत्रमा योजनाबद्ध बिकास गर्नुपर्ने धारणा अघि सारिएको छ ।

कान्तिपुर दैनिकले नै असार पहिलो साता सरकारले गर्ने दाता सम्मेल्नमा ऋण मिनाहाको प्रस्ताव लैजाने तयारी भईरहेको समाचार पनि छापेको छ । विश्व बैंक, अन्र्तराष्ट्रिय मुद्रा कोष र एशियाली बिकास बैंकहरुले यस अघि अनुदान भन्दा पनि बढी मात्रामा ऋण दिदै आएकोमा अब पहिले दिएका ऋण मिनाहा गर्न उनीहरु समक्ष प्रस्ताव लगिने समाचारमा जनाईएको छ । यसरी ऋण मिनाहा भए नेपालले ऋणको सावाँ ब्याज तिर्न प्रयोग हुँदै आएको २५ अर्ब बचत हुने र त्यसलाई पुननिर्माणमा लगाउन सकिने सरकारी अधिकारीहरुको भनाई छ ।

कारोबार दैनिकले एक पछि अर्को भुकमप गएपछि सुनसान बनेका राजधानीका बजारहरुमा चहल पहल देखिन थालेको समाचार छापेको छ । दैनिकले भुकम्पको साना धक्काहरु आईरहे पनि त्यसको प्रभाव कम हुन थालेपछि मुख्य ब्यापारिक केन्द्रहरु न्युरोड, भोटाहिटी, असन, ईन्द्रचोक लगायतका क्षेत्रका ब्यापारीहरुले बिस्तारै पसलहरु खोल्न थालेको समाचारमा उल्लेख गरेको छ । सोही क्रममा बैसाख १२ गतेको भुकम्पले ढलेको धरहरा छेउको मः मः पसल पनि खुलेको उल्लेख गरिएको छ ।

दक्षिण कोरियाले नेपालमा गएको भुकम्पपछि पुननिर्माणमा सघाउन एक अर्ब रुपैया सहयोग गर्ने घोषणा गरेको समाचार कारोबारमा छ । सोलस्थित बिदेश मामिला मन्त्रालयका अनुसार पहिलो चरणमा पीडितको पुर्नस्थापनाका लागि १० मिलियन डलर सहयोग दिन लागिएको जनाएको छ । कोरियाले भुकम्पपछि झण्डै चार अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहयोग गरिसकेको छ ।

सरकारले निशुल्क भिषा र हवाई टिकटसहितको सुन्य लागतको बैदेशिक रोजगारीमा मात्र जनशक्ति पठाउँने निर्णय गरे लगत्तै मलेशियास्थित नेपाली दुताबासले सुन्य लागत बाहेकका नेपाली कामदारको माग पत्र प्रमाणिकरण गर्न बन्द गरेको कारोबारले जनाएको छ । नेपाली कामदारहरु जाने देशहरुमा मलेशिया पहिलो ठूलो गन्तब्य हो । नेपालमै कामदारको ठूलो माग हुने भएकाले सुन्य लागत बाहेकमा कामदार विदेश पठाउन नहुनेमा मजदुर संगठनहरुले जोड दिएका छन् ।

तराई टेलिभिजन समेत खरिद गरेका रिनाउन बहुदेश्यीय सहकारीका संचालक मनोजभक्त श्रेष्ठलाई १४ करोड ठगेको अभियोगमा प्रहरीले पक्राउ गरेको समाचार पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् । श्रेष्ठले सहकारीका बचतकर्ताहरुको रकम हिनमिना गरेको उजुरी परेपछि डिभिजन सहकारी कार्यालय काठमाडौको पत्रको आधारमा प्रह्ीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले गाउँमा भुकम्प प्रतिरोधी घर बनाउन निर्देशिका ल्याउने तयारी गरेको छ । कारोबारका अनुसार गाउँमा बन्ने घर जिल्ला प्राविधिक कार्यालयबाट अनुगम हुने गरी निर्देशिका ल्याएर घर निर्माणको ब्यवस्था गर्न लागिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार ०२:४७