काठमाडौं / संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ ।
युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर आगामी कात्तिक १४ गतेसम्म कायम रहने छ ।
प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइने छ ।
साथै वैधरुपमै युएईमै बस्न चाहनेले काम खोज्न युएई सरकारले तोकेको ५०० दिराम (करीब रु १५ हजार) शुल्क तिरी छ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।
त्यस्तै युएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
Comment