नाै महिनामा रेमिट्यान्स अाम्दानी साढे पाँच खर्ब पुग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाै महिनामा रेमिट्यान्स अाम्दानी साढे पाँच खर्ब पुग्याे



काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली कामदारले पठाउने रेमिट्यान्स (विप्रेषण) मा केही महिनायता सुधार आएको जनाएको छ। कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्।

केही समयअघिसम्म ओरालो लाग्न थालेको रेमिट्यान्स आम्दानी चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा झण्डै ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

तर हुण्डी जस्ता गैरकानुनी तरिकाले पैसा पठाउने प्रवृत्तिलाई समयमै रोक्न नसके पछिल्लो सुधार धेरै टिक्न नसक्ने  जानकारहरु बताउछनः।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू घट्ने क्रममा रहेको तथ्याङ्क सार्वजनिक भइरहँदा रेमिट्यान्स आम्दानी गत चैतसम्ममा झण्डै साढे पाँच खर्ब (अर्थात् ५४० अर्ब) रूपैयाँ पुगेको छ।

कतिपय मुलुकबाट पैसा पठाउने प्रणालीमा सुधार र पछिल्लो सुनकाण्डका कारण हुण्डी कारोबारमा कमी आएकोले पनि रेमिट्यान्स आम्दानीमा सुधार भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए। उनले भने, “पहिले २० देखि २५ डलरमा ब्याङ्कबाट पैसा पठाउनेहरूले अहिले मनि ट्रान्सफर खुलेपछि ६-७ डलरमा पैसा पठाउन थालेका छन्।

रेमिट्यान्स आम्दानी बढ्नुमा अमेरिकी डलर र मलेसियन रिङ्गेटको दरमा वृद्धि हुनुलाई पनि अर्को कारण मानिएको छ । सरकारले संस्थागत रूपमा रकम भित्र्याउन विनिमय दरमा छुट र सेवा शुल्क कम गर्न आवश्यक नीतिमा समेत सुधार गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

देशको कुल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई रकम वैदेशिक रोजगारीमार्फत आउने गरेको छ। खाडी राष्ट्रको तुलनामा भारत र दक्षिण कोरियाबाट गैरकानूनी हुण्डीमार्फत ठूलो रकम भित्रिँदा राजश्व आयमा अर्बौँ रूपैयाँको नोक्सानी भइरहेको बताइन्छ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १२:५६