पोखरा । गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट)वालाको हातमा रहेकाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुनपुगेको बताएका छन् । देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे ।
‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन,’ प्रेस सेन्टर कास्कीको पत्रकार भेटमा उनले भने, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्यका लागि दृढतापूर्वक लागेको छ ।’

विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो । ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको उनले दोहोर्याए । विकास, समृद्धि, शान्ति, स्थायित्व, सुशासनलाई स्थापित गर्न भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र सिन्डीकेटलाई पूर्णरुपमा समाप्त गर्न जरुरी रहेको उनले बताए ।
‘यातयात, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रमा रहेको एकाधिकारलाई उखेल्न सरकार प्रतिवद्ध छ’ उनले भने, ‘आर्थिक प्रगतिलाई रोक्ने यिनै तत्व हुन । धेरै टाट पल्टने मुठिभर फस्टाउने चलनको अन्त्य आवश्यक छ ।’ खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले त्यो सरकारको हुने उनले बताए । यसकालागि एउटा कार्यदल बनेको र त्यसको सिफारीश अनुसार उक्त रकम प्रयोग गर्ने उनको भनाई थियो ।
देशमा गुन्डाराजको अन्त्यका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भएको भन्दै उनले गुन्डाको ‘सफाया’ गरिने बताए । देशको आवस्यकता र जनताको जनादेश बिकास र समृद्धि रहेको उनले बताए । सुशासन अभावमा देश पछि परेको उनको टिप्पणी थियो । आगामी बजेटबाट विकासको योजना ल्याउने तयारी भइरहेको उनले बताए ।






Comment