नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै



–नारायण अधिकारी
चितवनः चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि चैतको अन्तिम साता छ वटा गिद्ध त्यहाँ लगिएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत वर्षका चार बच्चा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए । यसअघि चैतमा गतवर्ष चार बच्चा र एक जोडी माउ गिद्ध जटायू रेष्टुरेण्ट पठाइएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि खुल्ला छाडिएको हो ।

अहिले लगिएका १३ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जानकारी दिंदै उहाँले खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धका बीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई प्रकृतिमा छाड्ने गरिएको छ भन्नुभयो ।

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् तिनबाट २१ वटा अण्डा पारिएपनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई खुल्ला छाड्ने योजना बनाएको छ ।

खुल्ला छाडिने गिद्धमा रेडियो फ्रिक्वेन्सीसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको हो ।

गोहीको अण्डा संकलन

राप्ती र नारायणी नदीको बगरमा घडियाल गोहीले पारेका अण्डा संकलन गरिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीको सौराहादेखि कसरासम्म नदी किनारमा अण्डा संकलन गरिएको हो । राप्ती नदीमा दश वटा गँुड फेला परेकामा तीन वटा गँुड छाडेर सात वटा गुँडको अण्डा संकलन गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा गोलाघाटदेखि त्रिवेणीसम्म छ वटा गँुड फेला परेकामा चार वटा गुँड छाडेर दुई वटा गँुडको अण्डा संकलन गरिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उज्यालोमा अण्डा संकलन ग¥यौँ, रातको समयमा ती अण्डालाई डुङ्गामा राखेर प्रजनन केन्द्रसम्म ल्यायौँ ।” गाडीमा अण्डा बोक्दा हल्लने भएकाले डुङ्गाबाट ल्याउने गरिन्छ ।

ती गुँडमा करीब ३०० वटा अण्डा संकलन भएको छ । हरेक वर्ष चैत महिनामा गोहीले नदी किनारमा खाल्टो खनेर अण्डा पार्ने गर्छ । संकलित अण्डालाई बालुवामुनि राख्ने गरिन्छ । जेठको अन्तिमसाता बच्चा आफंैँ कोरलिन्छ । कोरलिएका गोहीका बच्चालाई प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कोशी र बबईमा गरी एक हजार ३६५ गोही नदीमा छाडिसकिएको छ । हाल प्रजनन केन्द्रमा ५०० हाराहारीमा घडियाल गोही छन् ।

पछिल्लो गणनाअनुसार राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ वटा गोही छाडिसकिएको छ । यो वर्ष १२० वटा गोही छाडिएको छ । विसं २०४९ बाट नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिँदै आएको छ ।

प्रकाशित : 24 April, 2018 1:02 pm