व्यक्तिगत आयकरमा राजबहादुर शाह उत्कृष्ट करदाता घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्यक्तिगत आयकरमा राजबहादुर शाह उत्कृष्ट करदाता घोषित



काठमाडौं । व्यवसायी राजबहादुर शाह व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाता बनेका छन्। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले शाहलाई व्यक्तिगत आयकरतर्फ उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह यसअघि पनि व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मानित हुँदै आएका छन्। गत वर्ष राष्ट्रिय कर दिवस २०८२ मा समेत उनी व्यक्तिगत आयकरतर्फ उत्कृष्ट करदाता घोषित भएका थिए।

हरेक वर्ष मंसिर १ गते मनाइने राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। कर प्रणालीमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले विभागले विभिन्न विधामा करदाता छनोट गरी सम्मान गर्ने गरेको छ।

यस वर्ष राष्ट्रिय कर दिवस ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नाराका साथ मनाइएको छ।

कर दिवसका अवसरमा सरकारले कर प्रणालीलाई थप न्यायपूर्ण, पारदर्शी र सुशासनमैत्री बनाउँदै राजस्व संकलनमा नागरिकको सहभागिता बढाउने प्रतिबद्धता जनाएको छ। कर तिर्ने संस्कृतिको विकास र करदाताको योगदानको सम्मानलाई पनि दिवसले प्राथमिकता दिँदै आएको छ।

प्रकाशित : 17 November, 2026 11:59 am