काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतसहित विभिन्न सेवा र समूहका राजपत्राङ्कित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका विभिन्न तहका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
आयोगले निजामती सेवा, सङ्घीय संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा तथा नेपाल स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो।
आयोगले न्याय सेवाअन्तर्गत न्याय, कानून र सरकारी वकिल समूहमा खुलातर्फ ३७ पदका लागि विज्ञापन गरेको छ। त्यस्तै संयुक्त तथा एकीकृत परीक्षाअन्तर्गत परराष्ट्र, प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद सेवाका विभिन्न पदमा खुलातर्फ ४३ जनाका लागि आवेदन खुलाइएको छ। यी पदमा सामान्य प्रशासनतर्फ २४, लेखातर्फ ११, लेखापरीक्षणतर्फ ६ तथा परराष्ट्र र सङ्घीय संसद सेवातर्फ एक/एक पद रहेका छन्।
यसैगरी निजामती सेवाअन्तर्गत इन्जिनियरिङ, वन, कम्प्युटर, तथ्याङ्क, कृषि लगायतका प्राविधिक सेवा तथा नेपाल स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदमा समेत विज्ञापन प्रकाशित गरिएको छ। सामान्य प्रशासन, परराष्ट्र तथा राष्ट्रिय मानव अधिकार सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। न्याय सेवाका लागि कानून विषयमा स्नातक तथा लेखा समूहका लागि व्यवस्थापन वा वाणिज्यशास्त्रमा लेखा वा वित्त विषयसहित स्नातक अथवा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ।
उम्मेदवारको उमेर २०८३ मंसिर १५ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा अधिकतम उमेर ४० वर्ष तोकिएको छ। स्वास्थ्य सेवातर्फ भने अधिकतम उमेर ४५ वर्ष कायम गरिएको छ। बहालवाला निजामती कर्मचारीको हकमा उमेरको सीमा लागू नहुने व्यवस्था छ।
इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत मंसिर १५ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २२ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। संयुक्त तथा एकीकृत परीक्षाअन्तर्गत प्रशासन, परराष्ट्र, लेखापरीक्षण र सङ्घीय संसद सेवातर्फको प्रथम चरणको लिखित परीक्षा आगामी पुस २५ गते बिहान ११ बजे सञ्चालन हुने आयोगले जनाएको छ। प्रथम चरणको परीक्षामा उत्तीर्ण हुने उम्मेदवार मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन्।





Comment