काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । क्लियरिङ्ग हाउसले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको हो ।
साधारण सभामा लेखा परीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ७२ लाख ८८ हजार दुई सय रुपैयाँ बराबरको हुनेछ ।
कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट प्रणालीहरू, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरू, डीपीआईका लागि थप पूर्वाधारहरू, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गरिनेछ ।
आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरू राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरूको सङ्ख्या र रकमको आधारमा १३ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको सञ्चालन आमदानी ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद नाफा ४१ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो ।









Comment