वीरेन्द्रनगर साकोसको नेतृत्वमा बमबहादुर विसी दोहोरिए, १.५३ अर्बको सम्पत्ति र १.१६ करोड सञ्चालन मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वीरेन्द्रनगर साकोसको नेतृत्वमा बमबहादुर विसी दोहोरिए, १.५३ अर्बको सम्पत्ति र १.१६ करोड सञ्चालन मुनाफा




सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १ करोड १६ लाख ८४ हजार ८२५ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। संस्थाको २५औँ वार्षिक साधारणसभाले बमबहादुर विसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गर्दै संस्थाको आर्थिक तथा सामाजिक गतिविधिको समीक्षा गरेको छ।


असोज २४ र २५ गते विभिन्न सात एकाइमा सम्पन्न बैठकबाट भएका निर्णयलाई असोज २८ गते आयोजित एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेपछि साधारणसभा सम्पन्न भएको हो।
सभाले विसीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा श्याम पौडेल, सचिवमा राजन रजवार र कोषाध्यक्षमा इन्द्रा हमाल चयन भएका छन्।
त्यस्तै, सञ्चालक सदस्यमा कमलप्रसाद नेपाल, देविराम बोहरा, शान्ति पोखरेल, विद्या खत्री र होमबहादुर रामजाली निर्वाचित भएका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालबहादुर खड्का तथा सदस्यमा बेचुलाल चौधरी र मोतिप्रसाद सापकोटा चयन भएका छन्।


१ अर्ब ५३ करोडभन्दा बढी कुल सम्पत्ति
साधारणसभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २५ लाख ६७ हजार २५ रुपैयाँ पुगेको छ।
संस्थामा सदस्यको बचत १ अर्ब २० करोड ५४ लाख ७० हजार ५८९ रुपैयाँ रहेको छ। त्यस्तै, शेयर पुँजी १६ करोड २५ लाख ९१ हजार ६०० रुपैयाँ र संस्थागत पुँजी ६ करोड ८५ लाख २८ हजार ९६६ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
सदस्यलाई प्रवाह गरिएको ऋण लगानी १ अर्ब १८ करोड ७९ लाख ११ हजार ९४४ रुपैयाँ ४३ पैसा रहेको छ। प्रस्तुत विवरणले संस्थाको बचत संकलन, ऋण लगानी र पुँजी परिचालनको अवस्थालाई देखाएको छ।


४४५ सदस्य सम्मानित
संस्थाले साधारणसभाका अवसरमा १२ विधाअन्तर्गत ४४५ जना सदस्यलाई सम्मान गरेको जनाएको छ। बाल सदस्यलाई शैक्षिक सामग्री, ज्येष्ठ सदस्यलाई पौष्टिक आहार तथा अन्य सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, ११ कित्ता संस्थागत शेयर थपसहित सम्मान गरिएको विवरणमा उल्लेख छ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो। संस्थाका विभिन्न सेवाकेन्द्रको वार्षिक प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो।


सदस्यको आर्थिक तथा सामाजिक सुरक्षामा जोड
वीरेन्द्रनगर साकोसले सदस्यको जीवनमा आइपर्ने विभिन्न अवस्थालाई ध्यानमा राखेर सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


संस्थाका अनुसार प्रसूति हुने महिला सदस्यलाई २ हजार रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग र दुर्घटना बीमाअन्तर्गत १ लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने व्यवस्था छ। सदस्यको मृत्यु हुँदा परिवारलाई काजकिरिया खर्चबापत २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालनमा छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाका अनुसार सहकारीले मुनाफा आर्जनलाई मात्र प्राथमिकता नदिई सदस्यको आर्थिक तथा सामाजिक सुरक्षालाई पनि महत्त्व दिएको छ।

सदस्यको समानान्तर शेयर कायम गर्ने नीतिसहित बचत तथा ऋण कारोबारमा आधारित अतिरिक्त लाभ र विभिन्न सुरक्षा कार्यक्रममार्फत सहकारीको प्रतिफल सदस्यसम्म पुर्‍याउने प्रयास गरिएको उनले बताएका छन्।
साधारणसभाका विभिन्न एकाइगत कार्यक्रम संस्थाका पदाधिकारी, सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका प्रतिनिधि, कर्मचारी, शेयर सदस्य र समाजसेवीहरूको सहभागितामा सम्पन्न भएका थिए।

प्रकाशित : 14 October, 2026 9:40 pm