वल्र्डलिङ्कको महिला सशक्तीकरणका लागि तीनदिने सीपमूलक तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वल्र्डलिङ्कको महिला सशक्तीकरणका लागि तीनदिने सीपमूलक तालिम सम्पन्न



ललितपुर । वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ।

छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाको सक्रिय सहभागिता रहेको तालिममा तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमको उद्देश्य सहभागी महिलालाई सीप विकाससँगै आयआर्जन र साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्नु रहेको थियो।

तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा वल्र्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

उहाँले महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु भएको बताउँदै सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो।

महिलालाई सीप, उत्पादन र उद्यमशीलतासँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले सहभागी महिलालाई आफ्नै स्तरमा साना उद्यम सञ्चालन गर्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 5 October, 2026 12:16 pm