धनगढीमा ‘एआई फर नेपाल २०२६’ सुरु, युवालाई उपभोक्ताबाट सिर्जनाकर्ता बनाउने लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

धनगढीमा ‘एआई फर नेपाल २०२६’ सुरु, युवालाई उपभोक्ताबाट सिर्जनाकर्ता बनाउने लक्ष्य



काठमाडौं । सुदूरपश्चिमको धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियानको भव्य सुरुवात भएको छ। क्यान महासंघको आयोजनामा सञ्चालित एआई, साइबर सुरक्षा र प्रविधि तालिममा ४०० भन्दा बढी विद्यार्थी सहभागी भई व्यावहारिक ज्ञान हासिल गरेका छन्।

नेपाली युवालाई प्रविधिको ‘उपभोक्ता’ मात्र नभई ‘सिर्जनाकर्ता’ बनाउने लक्ष्यका साथ धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियान सुरु भएको छ। ४०० भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा एआई, साइबर सुरक्षा र डाटा प्रविधिको व्यावहारिक ज्ञान प्रदान गरियो। प्रविधिको तीव्र विकाससँगै नेपाली युवा पुस्तालाई भविष्यका डिजिटल अवसरहरूसँग जोड्न सुदूरपश्चिमको धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियानको भव्य सुरुवात भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार आयोजित विशेष तालिम तथा अन्तरक्रिया कार्यक्रममा धनगढीका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को व्यावहारिक प्रयोग, सम्भावना र चुनौतीबारे प्रत्यक्ष प्रशिक्षण लिएका छन्।

प्रविधिको जिम्मेवार प्रयोग र अवसरस् मुख्यमन्त्री भट्ट

कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एआईले मानव जीवनका हरेक आयामलाई सरल बनाउँदै लगेको चर्चा गर्दै यसको प्रयोगमा उत्तरदायित्व र सतर्कता आवश्यक रहेको बताए। शिक्षा, स्वास्थ्य, कृषि र सरकारी सेवा प्रवाहमा एआईको सही प्रयोग गर्न सके कार्यसम्पादन र उत्पादनमा ठूलो क्रान्ति ल्याउन सकिन्छ। प्रविधिको दुरुपयोगले निम्त्याउने वित्तीय अपराध तथा व्यक्तिगत गोपनीयताका जोखिमहरूप्रति युवा पुस्ता पहिल्यै सचेत हुनुपर्छ।

युवा पुस्तालाई ‘उपभोक्ता’ होइन, ‘सिर्जनाकर्ता’ बनाउने राष्ट्रिय सङ्कल्प: क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी

कार्यक्रमका विशिष्ट अतिथि तथा क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष एवम् वान कभर प्राइभेट लिमिटेडका संस्थापकरसीईओ चिरञ्जीवी अधिकारीले ‘एआई फर नेपाल २०२६’ केवल औपचारिक तालिम मात्र नभई नयाँ पुस्तालाई डिजिटल भविष्यका लागि तयार पार्ने राष्ट्रिय अभियान भएको बताए। ‘हाम्रा युवाहरू एआई प्रविधिका केवल ‘उपभोक्ता’ मात्र बनेर बस्नु हुँदैन, उनीहरू प्रविधिका ‘सिर्जनाकर्ता’ र समस्या समाधानकर्ता बन्नुपर्छ। माध्यमिक तह (कक्षा ११-१२) बाटै विद्यार्थीलाई एआईको व्यावहारिक सीप दिन सके भविष्यमा नेपालमै विश्वस्तरीय आईटी जनशक्ति तयार हुनेछ।’ अधिकारीका अनुसार यस अभियानको अर्को मुख्य उद्देश्य ‘एआई फ्रड डिटेक्सन’ र साइबर अपराध नियन्त्रणमा युवाहरूलाई सचेत र सक्षम बनाउनु रहेको छ।

क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले मोफसलका विद्यार्थीहरूमा प्रविधिसम्बन्धी अभूतपूर्व उत्साह जगाएको छ।

सैद्धान्तिक ज्ञान मात्र होइन, ‘ह्यान्ड्स-अन’ सीप र आईटी उद्योगको माग: तालिम सत्रमा एआई तथा डाटा प्रशिक्षक बाबुराम श्रेष्ठले सहभागी विद्यार्थीहरूलाई एआई टुल्स र डाटा प्रविधिको व्यावहारिक प्रयोग गराएका थिए। सिद्धान्तमा मात्र सीमित नभई आधुनिक सूचना प्रविधिको माग अनुसार विद्यार्थीहरूले कसरी आफ्ना सीपहरू तिखार्न सक्छन् भन्नेबारे सहजीकरण गरिएको थियो।

मोफसलबाट देशव्यापी प्रविधि क्रान्तिको सुरुवात

‘एआई फर नेपाल २०२६’ अभियानको सुरुवात सुदूरपश्चिमबाट हुनुले प्रविधिका अवसरहरू राजधानीमा मात्र सीमित छैनन् भन्ने सन्देश दिएको छ। युवाहरूमाझ प्रविधिप्रतिको बढ्दो चासो, साइबर सुरक्षाको चेतना र एआईको सही प्रयोगलाई एकीकृत गर्दै लगिएको यो अभियानले आगामी दिनमा देशभरिका युवाहरूलाई प्राविधिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ।

प्रकाशित : 1 October, 2026 1:57 pm