आईसी एशिया क्यापिटल र विराट एग्रीबीच आईपीओ निष्कासन सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

आईसी एशिया क्यापिटल र विराट एग्रीबीच आईपीओ निष्कासन सम्झौता



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र विराट एग्री लिमिटेडबीच संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा निष्कासन गर्नुपर्ने शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले आफ्नो ‘IDEA to IPO’ सेवा अन्तर्गत विराट एग्री लिमिटेडलाई कम्पनी स्थापना कालदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउनेछ।

सुनसरीको इटहरी–१३ मा कार्यालय रहेको विराट एग्री लिमिटेडले प्रचलित कानुनबमोजिम भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ।

नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यसहित स्थापित कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ। कम्पनीले आफूलाई देशका ठूला तथा व्यवस्थित व्यावसायिक माछा फार्ममध्ये एकका रूपमा विकास गर्दै लगेको छ।

विराट एग्रीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरी विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

कम्पनीका अनुसार प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गरिनेछ। साथै, आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य कम्पनीले लिएको छ।

विराट एग्रीले पाङ्गास फिलेट तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गरी आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गर्ने तथा फिलेटलगायत अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको उत्पादन, प्याकेजिङ र बजारीकरण गर्ने योजना अघि सारेको छ।

त्यसैगरी, हाल सञ्चालनमा रहेको फ्लोटिङ फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य पनि कम्पनीले लिएको छ।

कम्पनीले ‘Farm to Market’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाएको जनाएको छ।

कम्पनीका अनुसार विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

एनआईसी एशिया क्यापिटलले ‘IDEA to IPO’ सेवाअन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरणदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित : 30 September, 2026 12:21 pm