होण्डाको स्पेयर पार्ट्समा बढी मूल्य लिएपछि स्याकार ट्रेडिङ ३ लाख जरिवानामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

होण्डाको स्पेयर पार्ट्समा बढी मूल्य लिएपछि स्याकार ट्रेडिङ ३ लाख जरिवानामा



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गरेको आरोपमा स्याकार ट्रेडिङ प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। नेपालका लागि होण्डा ब्रान्डका मोटरसाइकलको आधिकारिक आयातकर्ता रहेको उक्त कम्पनीले एमआरपी (अंकित मूल्य) भन्दा बढी मूल्य लिएर स्पेयर पार्ट्स बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।

विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार केही दिनअघि कम्पनीले एमआरपीभन्दा बढीमा स्पेयर पार्ट्स बिक्री गरिरहेको भन्दै विभागमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा विभागको अनुगमन टोलीले ललितपुरको कुमारीपाटीस्थित स्याकार ट्रेडिङको शोरुममा छापा मारेको थियो।

अनुगमनका क्रममा १ हजार ६ सय रुपैयाँ एमआरपी तोकिएको स्पेयर पार्ट्स उपभोक्तालाई १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको फेला परेको थियो। तोकिएको मूल्यभन्दा २ सय रुपैयाँ बढी असूल गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम विभागले कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको सूचना अधिकारी किरातीले जानकारी दिएका छन्।

प्रकाशित : 22 September, 2026 4:14 pm