काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा नेपालभर एकै दिन टाटा मोटर्सका १५० वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका २२ वटा शोरुममार्फत ती गाडी ग्राहकलाई डेलिभरी गरेको हो ।
ग्राहकलाई हस्तान्तरण गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी रहेका छन् । यसबाहेक विभिन्न पेट्रोल तथा डिजेल इन्जिनयुक्त मोडलसमेत डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदीका अनुसार डेलिभरी गरिएका अधिकांश गाडी यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शो का क्रममा सार्वजनिक, बिक्रीका लागि प्रस्तुत तथा बुकिङ गरिएका थिए । एक्स्पो तथा अटो शोमा प्राप्त बुकिङको प्रक्रिया पूरा भएपछि विश्वकर्मा पूजाको अवसर पारेर ग्राहकलाई गाडी हस्तान्तरण गरिएको हो ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेका बेला टाटाका नयाँ ईभी मोडलको एकै दिन ठूलो संख्यामा भएको डेलिभरीले बजारमा ईभीप्रतिको माग र आकर्षणलाई थप देखाएको कम्पनीको भनाइ छ ।
विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको सिप्रदीले जनाएको छ ।
विश्वकर्मा पूजाको दिन देशभरका २२ शोरुमबाट एकैपटक १५० वटा गाडी डेलिभरी हुनु टाटा मोटर्सप्रति नेपाली ग्राहकको रुचि र विश्वासको संकेत भएको कम्पनीको दाबी छ ।
सिप्रदीले ग्राहकको आवश्यकता तथा बजारको मागअनुसार नयाँ प्रविधि, सुरक्षा र सुविधासहितका विभिन्न मोडल नेपाली बजारमा ल्याउँदै जाने जनाएको छ ।








Comment