असोजमा मुद्दति निक्षेपको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन्? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

असोजमा मुद्दति निक्षेपको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन्?



काठमाडाैं। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत कमजोर भएपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदरमा थप कटौती गरेका छन्। केही बैंकले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

असोजमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो। यसैगरी संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर पनि भदौको ३.०८१ प्रतिशत बाट घटेर असोजमा ३.०६६५ प्रतिशत मा झरेको छ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ४.५५ प्रतिशत तोकेको छ। त्यसपछि सानिमा, एनएमबी, माछापुच्छ्रे तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतले ४.५० प्रतिशतसम्म ब्याज दिने भएका छन्।

कुन बैंकमा कति ब्याज ?

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याज दिने भएको छ। प्रभु बैंकले व्यक्तिगत निक्षेपमा ४.५५ प्रतिशत तथा संस्थागतमा २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

एभरेष्ट बैंकले भने ब्याजदर घटाएको छ। व्यक्तिगततर्फको अधिकतम दर भदौको ४.०५ प्रतिशतबाट घटाएर ३.५० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत कायम गरिएको छ। सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगत निक्षेपको दर ३.८५ प्रतिशत मै राखेको छ भने संस्थागततर्फको दर घटाएर २.७५ प्रतिशत बनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ। सानिमा बैंकले व्यक्तिगततर्फ ४.५० प्रतिशत ब्याजदर कायम राख्दा संस्थागततर्फको दर बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल एसबीआई बैंकले व्यक्तिगततर्फ ४.१० प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ।

ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ अधिकतम ३.७६ प्रतिशत र संस्थागततर्फ ३.०५ प्रतिशत ब्याजदर कायम गरेको छ।

एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४.५० प्रतिशत र संस्थागतमा ३.५० प्रतिशत ब्याजदर तोकेको छ।हिमालयन बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत तथा संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ४.१५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत ब्याज दिने भएको छ। माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ४.५० प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ।

कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम दर घटाएर ३.७३ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ ३.०१ प्रतिशत दर यथावत् राखेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। संस्थागततर्फ भने २.७५ प्रतिशत दर यथावत् छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ४.५० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४ प्रतिशत तथा संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ।

नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। संस्थागततर्फ भने ३.०१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

समग्रमा हेर्दा असोज महिनामा अधिकांश बैंकले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले व्यक्तिगत वा संस्थागत निक्षेपतर्फ दर घटाएका छन्। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र कर्जाको मागमा देखिएको सुस्तताका बीच निक्षेपको ब्याजदरमा आएको गिरावटले आगामी दिनमा पनि ब्याजदरको दिशा प्रभावित गर्न सक्ने देखिन्छ।

प्रकाशित : 16 September, 2026 12:27 pm