काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको नेतृत्व विवाद थप पेचिलो बनेको छ । महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।
अधिकारीले महासचिव भुर्तेलबाट महासंघको विधानविपरीत काम भएको दाबी गर्दै आवश्यक कारबाहीको मागसहित प्रशासनमा निवेदन दिएका हुन् ।
अधिकारीले दिएको निवेदनमा महासचिव भुर्तेलले महासंघको विधानको दफा २८ ले निर्धारण गरेका काम, कर्तव्य र अधिकारको सीमाभन्दा बाहिर गएर संस्थाका महत्वपूर्ण अभिलेख तथा स्रोतमा एकलौटी नियन्त्रण कायम गरेको आरोप लगाइएको छ ।
निवेदनअनुसार महासंघको आधिकारिक इमेल खाता [email protected], संस्थागत संरचना, सदस्यसम्बन्धी अभिलेख, ASOCIO तथा WITSA सँग सम्बन्धित पत्राचार र वित्तीय अभिलेखमा अन्य पदाधिकारी तथा कार्यवाहक अध्यक्षलाई जानकारी नदिई नियन्त्रण कायम गरिएको दाबी छ ।
अधिकारी पक्षले पटक–पटक आग्रह गर्दा पनि आवश्यक विवरण तथा पहुँच उपलब्ध नगराइएपछि नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौंमा समेत निवेदन दिएको जनाएको छ । साइबर ब्यूरोले घटनासँग सम्बन्धित आवश्यक प्राविधिक विवरण माग गरिसकेको अधिकारी पक्षको भनाइ छ ।
इमेलदेखि निर्णय पुस्तिकासम्म नियन्त्रणको आरोप
कार्यवाहक अध्यक्षले प्रशासनमा बुझाएको निवेदनमा महासचिवले महासंघको दर्ता–चलानी किताब र माइन्युट बुकसमेत आफ्नो नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।
त्यस्तै, संस्थागत इमेलमा सन्देश प्राप्त हुने तर पठाउन नसकिने अवस्था सिर्जना गरी निर्वाचित पदाधिकारीहरूलाई आधिकारिक इमेलमार्फत पत्राचार गर्नबाट रोकिएको दाबी निवेदनमा गरिएको छ ।
केन्द्रीय कार्यसमितिको स्वीकृतिबिना व्यक्तिगत इमेल प्रयोग गरेर अन्तर्राष्ट्रिय संस्थासँग पत्राचार गर्ने तथा महासंघको लेटरहेड, लोगो, छाप र डिजिटल पहिचान प्रयोग भएको विषयसमेत अधिकारीले उजुरीमा उठाएका छन् ।
भदौ ४ गते साँझ ८ बजे कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा समेत महासचिवबाट अवरोध सिर्जना गरिएको दाबी निवेदनमा छ । बैठकमा विवाद उत्पन्न गराएको, कर्मचारीलाई आफूखुसी बिदा दिई कार्यालय बन्द गराएको तथा दर्ता–चलानी र निर्णय पुस्तिका झोलामा बोकेर हिँडेको आरोपसमेत लगाइएको छ ।
कार्यसमितिका बहुमत सदस्य उपस्थित बैठकले स्पष्टीकरण माग्दा पनि जवाफ नदिएको र महासंघका गतिविधिमा एकलौटी नियन्त्रण कायम गर्ने प्रयास भएको अधिकारी पक्षको आरोप छ ।
अधिकारीले महासचिवबाट भएका भनिएका गतिविधि संस्था दर्ता ऐन, २०३४ को दफा ६ तथा क्यान महासंघको विधान, २०७० को तेस्रो संशोधनसहितको दफा २८ विपरीत रहेको दाबी गरेका छन् । उनले महासचिवलाई यथाशीघ्र कार्यालयमा उपस्थित गराई आवश्यक कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
उजुरीसँगै संस्था दर्ता प्रमाणपत्र, महासंघको विधान, नागरिकताका प्रतिलिपि तथा इमेल र ह्वाट्सएपमार्फत भएका संवादका प्रतिलिपिसमेत संलग्न गरिएको जनाइएको छ ।
यसरी सुरु भएको थियो नेतृत्व विवाद
क्यान महासंघको ३१औँ वार्षिक साधारणसभा तथा १५औँ महाधिवेशन २०८१ पुस १३ गते काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष, चिरञ्जीवी अधिकारी वरिष्ठ उपाध्यक्ष र चन्द्रविलास भुर्तेल महासचिव निर्वाचित भएका थिए ।
अध्यक्ष पाण्डेले २०८३ वैशाख ३० गते पदबाट राजीनामा दिएपछि महासंघको विधानको दफा २६ को उपदफा ६ अनुसार वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई २०८३ जेठ ३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।
अध्यक्ष पद रिक्त भएपछि कार्यवाहक अध्यक्ष र महासचिवबीच संस्थाको सञ्चालन, अभिलेख, सचिवालय तथा आधिकारिक पत्राचारको अधिकारलाई लिएर विवाद बढ्दै गएको देखिन्छ । भुर्तेल क्यानको विधानको केन्द्रमा भन्दा पनि हुकुमी शैली मार्फत संसथा कब्जाको दाउमा रहेको क्यानकै पदाधिकारीहरुको बुझाई छ । पछिल्लो समय यही विवाद प्रशासन र साइबर ब्यूरोसम्म पुगेपछि क्यान महासंघभित्रको आन्तरिक टकराव थप गहिरिएको छ।








Comment