सेयर बजारमा उत्साह : नेप्से ४८ अंकले उकालो लाग्दा कारोबार रकममा दोब्बर वृद्धी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारमा उत्साह : नेप्से ४८ अंकले उकालो लाग्दा कारोबार रकममा दोब्बर वृद्धी



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको वृद्धि देखिएको छ। साताको कारोबारको दोस्रो दिन नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा कायम भएको छ।

कारोबार सुरु भएलगत्तै बजारमा देखिएको तीव्र उतारचढावका बीच नेप्से एक समय २६७९ विन्दुसम्म पुगेको थियो। यद्यपि, बन्द हुने बेलासम्म केही करेक्सन हुँदै २६३३.६२ विन्दुमा पुगेर दिनको कारोबार टुंगिएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से २५.५५ अंक र गत शुक्रबार २७.९४ अंकले बढेको थियो।

कारोबार रकममा छलाङ

मंगलबार बजारमा सेयर खरिदबिक्री चाप ह्वात्तै बढेको छ। यसदिन कुल ८ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार मात्रै ४ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो, जस अनुसार मंगलबार कारोबार रकममा लगभग दोब्बरको वृद्धी आएको हो।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये बजार पूर्णतः हरियाली बनेको छ। कुल २७८ वटा कम्पनीको सेयर किनबेच हुँदा २६५ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ। १ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

नयाँ कार्ययोजनाले बढायो लगानीकर्ताको मनोबल

बजारमा अचानक आएको यो तीव्र वृद्धिको प्रमुख कारण सरकारको नयाँ नीतिलाई मानिएको छ। सोमबार साँझ अर्थ मन्त्रालयले अर्थतन्त्रको सुस्तता र पुँजी बजारको मन्दीलाई चिर्न ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको थियो।

हालैको बाढीपहिरोका कारण जलविद्युत लगायतका पूर्वाधार क्षेत्रमा पुगेको नोक्सानी र समग्र आर्थिक चक्रमा दबाब परिरहेको बेला मन्त्रालयले बजारलाई आधुनिकीकरण, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित उक्त खाका ल्याएको थियो। सोही सकारात्मक सन्देशका कारण लगानीकर्तामा देखिएको कन्फिडेन्सले मंगलबार बजार उकालो लाग्न पुगेको हो।

प्रकाशित : 15 September, 2026 3:18 pm