अकूको उपाध्यक्षमा नेपालका चन्द्रप्रसाद ढकाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अकूको उपाध्यक्षमा नेपालका चन्द्रप्रसाद ढकाल निर्वाचित



काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को उपाध्यक्षमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न अकूको ४५औँ वार्षिक साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारण सभाबाट ढकाल नेपालका तर्फबाट सञ्चालकमा निर्वाचित हुँदै उपाध्यक्षको जिम्मेवारीसमेत पाएका हुन् ।

एशियाली स्तरको बचत तथा ऋण सहकारी अभियानको नेतृत्व तहमा नेपालको प्रतिनिधित्व गर्दै ढकाल उपाध्यक्षमा चयन हुनुलाई नेपालको बचत तथा ऋण सहकारी अभियानको अन्तर्राष्ट्रिय पहिचान र सहभागिता विस्तारका रूपमा हेरिएको छ ।

साधारण सभाले दक्षिण कोरियाबाट यङ–चुल कोच, थाइल्यान्डबाट दानुक्रित कटाम्पाकोम, नेपालबाट चन्द्रप्रसाद ढकाल, फिलिपिन्सबाट रे डी. लाबासानो र ताइवानबाट लियो चुन फोङलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

त्यस्तै, इन्डोनेसियाका डा. वारे साबोर डोमिनिकसलाई प्रथम र श्रीलंकाका एल. बी. देसनायकेलाई द्वितीय वैकल्पिक सञ्चालकमा चयन गरिएको छ ।

अकूको प्रचलित व्यवस्थाअनुसार निर्वाचित सञ्चालकमध्ये कुनै पद रिक्त भएमा प्राथमिकताक्रममा रहेका वैकल्पिक सञ्चालकले उक्त जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । यसले प्रथम वैकल्पिक सञ्चालकलाई आगामी दिनमा सञ्चालक बन्ने अवसरसमेत प्रदान गर्न सक्छ ।

ढकालको उपाध्यक्ष पदमा चयनसँगै नेपालको बचत तथा ऋण सहकारी क्षेत्रले एशियाली सहकारी अभियानको नीति, नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारी भूमिका खेल्ने अवसर पाएको छ ।

प्रकाशित : 13 September, 2026 3:42 pm