रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एशियाली ऋण महासंघ (अकू)बाट ‘एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्राप्त गरेको छ।
मलेसियाको क्वालालम्पुरमा आयोजित ‘एशियन क्रेडिट युनियन फोरम–२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्पाकोर्नले जनउत्थान साकोसलाई उक्त ब्राण्ड प्रदान गरेका हुन्। फोरम २५ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।
अकूले ७ अगस्ट २०२६ मा गरेको मूल्यांकनका आधारमा जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्म लागू हुने गरी ‘एक्सेस सिल्भर’ प्रमाणीकरण प्रदान गरेको हो।
मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य तथा ग्राहक केन्द्रितता, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चार प्रमुख क्षेत्र समेटिएका थिए। संस्थाले वित्तीय क्षेत्रमा ५२ मध्ये ३९, सदस्य तथा ग्राहक क्षेत्रमा १०८ मध्ये ८३, आन्तरिक व्यावसायिक प्रक्रियामा १०४ मध्ये ७८ तथा सिकाइ र वृद्धिमा ८० मध्ये ६१ अंक प्राप्त गरेको छ।
यसअनुसार कुल ३४४ अंकमध्ये २६१ अंक अर्थात् ७५.८७ प्रतिशत प्राप्त गर्दै जनउत्थान साकोसले ‘एक्सेस सिल्भर ब्राण्ड’ हासिल गरेको हो।
अकूले जनउत्थान साकोसलाई सीमान्तकृत समुदाय तथा युवा उद्यमीलाई साना व्यवसाय र दिगो आर्थिक गतिविधिमा जोड्न नवीन वित्तीय समाधान उपलब्ध गराउने नमुना सहकारीका रूपमा प्रशंसा गरेको छ। साथै, संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउनुपर्ने सुझाव दिँदै न्यून आय भएका सदस्य लक्षित कार्यक्रम र वित्तीय साक्षरता विस्तारमा जोड दिएको छ।
जनउत्थान साकोसले सन् २०१८ देखि ‘एक्सेस ब्राण्ड’ प्राप्त गर्दै आएको छ। पछिल्ला तीन वर्षदेखि भने संस्थाले लगातार ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्दै आएको जनाएको छ।
हाल ४४ हजार ३७० सदस्यलाई वित्तीय सेवा दिँदै आएको संस्थाले संस्थागत पुँजीलाई प्राथमिकतामा राखेको जनाएको छ। संस्थाको जगेडा कोषमा मात्रै ४० करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रनबहादुर थापाले ‘एक्सेस सिल्भर ब्राण्ड’ प्राप्त हुनु शेयर सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, उपसमिति तथा सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। आगामी दिनमा सदस्यका आवश्यकताअनुसार थप गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे।
संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले पनि यो उपलब्धि समग्र टिमको मेहनत, प्रतिबद्धता र सहकार्यको परिणाम भएको बताए। उनले आगामी दिनमा जनउत्थान साकोसलाई अझ उत्कृष्ट र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।









Comment