विदेशबाट पैसा पठाउँदा सिटी एक्सप्रेसले रेमिट्यान्स शुल्क नलिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशबाट पैसा पठाउँदा सिटी एक्सप्रेसले रेमिट्यान्स शुल्क नलिने



काठमाडाै । सिटी एक्सप्रेसले नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पठाउन सहज बनाउने उद्देश्यले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

विपद्को कठिन अवस्थामा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज र छिटो आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै विशेष सुविधा लागू गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार खाडी मुलुकअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायत मुलुकबाट नेपाल रेमिट्यान्स पठाउँदा सेवा शुल्क लाग्ने छैन। त्यस्तै, एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पनि नेपाल पैसा पठाउँदा निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध हुनेछ।

युरोपमा रहेका नेपालीलाई समेत यो सुविधा उपलब्ध गराइएको छ। बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा समेत यो सुविधा लागू हुनेछ।

विश्वका विभिन्न मुलुकमा रहेका सिटी एक्सप्रेस तथा यसका अन्तर्राष्ट्रिय च्यानलमार्फत निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसबाट विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ।

कम्पनीले उक्त सुविधा तत्काल प्रभावबाट लागू भइसकेको जनाउँदै विदेशमा रहेका नेपालीलाई विपद्को समयमा आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न यसको उपयोग गर्न आग्रह गरेको छ।

सिटी एक्सप्रेसले विगत २० वर्षदेखि विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : 30 August, 2026 12:11 pm