काठमाडौं । प्राइम कमर्सियल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ८ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री सहयोग गरेको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका साथै पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।
बैंकले प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको दाबी गरेको छ। यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ।





Comment