सवारीसाधनमा आत्मनिर्भर बन्नुपर्छ, आयातमा मात्र निर्भर हुनुहुँदैन : उपराष्ट्रपति यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सवारीसाधनमा आत्मनिर्भर बन्नुपर्छ, आयातमा मात्र निर्भर हुनुहुँदैन : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’को उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
उपराष्ट्रपति यादवले नाडा अटो शो केवल व्यापारिक मेला वा प्रदर्शनी मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्रसमेत भएको उल्लेख गरे।
‘आजको आधुनिक युगमा अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका अतुलनीय छ,’ उनले भने, ‘नेपाली अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सहकार्यका नयाँ आयाम थप्दै आएको नाडाको प्रयास प्रशंसनीय छ।’
सम्बोधनका क्रममा उपराष्ट्रपति यादवले नेपाल अब सवारीसाधनको आयातमा मात्र निर्भर नभई स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।
‘अब नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक छ। यसले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको सञ्चितिमा पनि मद्दत पुर्‍याउनेछ,’ उनले भने।
उनले १८औँ संस्करणको नाडा अटो शोले विद्युतीय सवारीसाधन, नवीनतम प्रविधि, अटो पार्ट्स तथा ग्यारेज उपकरणलाई एउटै छातामुनि प्रस्तुत गरेर उपभोक्ताको सहज पहुँचमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे।
हरित ऊर्जामा आधारित सवारीसाधनको प्रवर्द्धन गरी मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउनु आजको मुख्य आवश्यकता रहेको उनले बताए।
नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्ड नेपालमा भित्र्याउनु नाडाको लक्ष्य हुनुपर्ने उनको भनाइ थियो।
‘उपभोक्ता, उद्योगपति, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण हुनुपर्छ,’ उनले भने।
त्यसैगरी, नयाँ सोचका साथ आउने अटो–टेक स्टार्टअप तथा आधुनिक ग्यारेज सेवा केन्द्रलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्नुपर्नेमा समेत उपराष्ट्रपति यादवले जोड दिए।

प्रकाशित : 25 August, 2026 10:51 am