नाडा अटो शो २०२६ सुरु, सवारी साधनलाई विलासिताको वस्तुका रूपमा हेर्ने दृष्टिकोण बदल्न अध्यक्ष उप्रेतीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शो २०२६ सुरु, सवारी साधनलाई विलासिताको वस्तुका रूपमा हेर्ने दृष्टिकोण बदल्न अध्यक्ष उप्रेतीको आग्रह




काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ। मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरु भएको हो। काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको मेला १४ भदौसम्म सञ्चालन हुनेछ।
अटो शोको उद्घाटन समारोहमा नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए।


“सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ। आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो,” उनले भने।


अध्यक्ष उप्रेतीले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेको गुनासो गरे। भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।


व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अपरिहार्य रहेको उनको भनाइ थियो। “करका दर र नीतिहरूमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई योजना बनाउन कठिन हुन्छ,” उनले भने, “सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ, जसले लगानीमैत्री वातावरण सिर्जना गर्नेछ।”
नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नयाँ अवसर ल्याएको बताउँदै उप्रेतीले अब एसेम्बल उद्योगसँगै कम्पोनेन्ट (पार्टपुर्जा) उत्पादनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे। नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवर्द्धनका लागि सरकारबाट थप सहुलियत र प्रोत्साहन आवश्यक रहेको उनको तर्क थियो।
स्वच्छ ऊर्जा, नयाँ प्रविधि र चार्जिङ पूर्वाधारको विकासमा नाडाले सरकार र निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरे।
२०० भन्दा बढी स्टल
नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन्। जसमा २३ वटा चारपांग्रे, १७ वटा कमर्सियल, १३ वटा दुईपांग्रे तथा ७० वटा अटो कम्पोनेन्टका स्टल रहेका छन्। त्यसबाहेक बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स लगायतका स्टलसमेत राखिएका छन्।


अटो शोमा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिँदैछ। ती स्टलमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, ब्याट्री, हेल्मेट एवं अन्य सामग्रीसमेत राखिएका छन्।


स्वर्ण उत्सव संस्करणमा नयाँ प्रविधिको प्रदर्शन
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गरिएको हो। प्रदर्शनीमा जी–१ ह्युमनाइड रोबर्ट र जेड–२ क्वाड्रप रोबोटजस्ता भविष्यमा यातायात तथा प्रविधिको क्षेत्रमा प्रयोग हुन सक्ने नयाँ प्रविधिको समेत अनुभव लिन सकिने व्यवस्था गरिएको छ।
यस संस्करणमा स्वदेशमै उत्पादित तथा एसेम्बल हुने सवारी साधनसँगै ल्युब, ब्याट्री, हेल्मेट तथा विभिन्न अटोमोबाइल कम्पोनेन्टसमेत प्रदर्शनमा राखिएका छन्। यसले नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, प्रविधिको विकास र भविष्यका सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।

प्रकाशित : 25 August, 2026 10:42 am